१३ असार २०८१, बुधबार
Follow Us

लन्डन दूतावासले आयोजना ग-यो नेपाली पेशाकर्मीहरुसंग अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०८०, आईतवार २०:३९

लन्डन । बेलायतमा क्रियाशील नेपाली विशेषज्ञ तथा पेशाकर्मीहरुसंग रहेको सीप, ज्ञान र श्रोत नेपालको विकासमा उपयोग गर्न सघाउने उद्देश्यले बेलायत स्थित नेपाली दूतावासले दुइ दिने अन्तरक्रियाको आयोजना गरेको छ।

शनिबार आयोजित उद्घाटन समारोहलाई एउटा भिडियो संदेश पठाउदै परराष्ट मन्त्री एन पी साउदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्द्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबीच सेतुको रूपमा पनि काम गर्दै आएको बताए । उनले नेपालमा वित्तीय पूँजीको अभाव मात्र नभई ज्ञान, सीप तथा अनुभवजस्ता मानवीय पूँजीको पनि खाँचो रहेको अवस्थामा यसको परिपूरण गर्न विदेशमा रहेका नेपाली समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध सहयोग र सहकार्यमा विस्तार भएको बताए । राजदूत आचार्यले प्रवासी नेपाली राष्ट्रको सम्पति हुन् भन्दै देश विकासमा उनीहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

स्वास्थ्य सम्बन्धी सत्रम नेपालबाट सम्बोधन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसालले भूकम्प तथा कोभिडका बेला बेलायत लगायत संसारभरिका नेपाली र स्वास्थ्यकर्मीहरुले पुराएको सेवाको प्रशंसा गरे । उनले बेलायत जस्तो विकसित मुलुकमा रहेर काम गरिरहेका नेपाली चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राध्यापकहरुलाई आफुसंग भएको ज्ञान र सीप नेपाली स्वास्थ्यकर्मीहरुसंग बाड्न आह्वान पनि गरे ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीले मन्त्रालयले क्यान्सरजस्ता नसर्ने रोगबारे जनचेतना जगाउन र तिनको उपचार सर्व सुलभ गर्न ध्यान केन्द्रित गरि रहेको बताए।

नेपाल नर्सिङ्ग परिषदकी अध्यक्ष प्रा सरला केसीले परिषदमा झन्डै ८०,००० नर्स तथा ३७,००० अनमीहरु आबद्ध रहेकोमा झन्डै १५०० स्पेशलिष्ट नर्स रहेको बताइन् । उनले झन्डै ३२,००० नर्सहरुले विदेश जान ‘भेरिफिकेशन लेटर’ लिएको पनि जानकारी दिइन्।

वाटर एड युकेमा कार्यरत पानी तथा सरसफ़ाइ (वाश) विशेषज्ञ डा ओम प्रसाद गौतमले सन् २०३० सम्म सबै नेपालीलाई सफा पिउने पानी र सफाईमा पहुँच स्थापना गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्न नेपाल सरकारले थप लगानी गर्नु पर्ने र अन्तरराष्ट्रिय समुदायले पनि मदत गर्नु पर्ने बताए ।


कार्यक्रममा नेप्लिज डक्टर्स एसोसियसन युकेका अध्यक्ष डा सन्जीब नेपाली, पूर्व अध्यक्षद्वय डा कमल अर्याल, डा रमेश कोजु तथा नेप्लिज नर्सेस एसोसियसन युकेकी अध्यक्ष सुनिता गौतम थापाले आफ्नो संस्थाले गरेका कामहरु बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन विशेषज्ञ डा बच्चु कैलाश कैनी, अक्सफोर्ड भ्याक्सिन ग्रुपका सोनु श्रेष्ठ, प्रमिला रिजाल साथै जैविक प्रविधि सम्बन्धी अनुसन्धानकर्ता प्रज्वल राज भण्डारीले पनि प्रस्तुति दिएका थिए।

शिक्षा तथा मानव विकास सम्बन्धी सत्रलाई नेपालबाट सम्बोधन गर्दै शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले शिक्षा सम्बन्धी नयाँ विधेयक संसदमा विचाराधीन रहेको र उच्च शिक्षा सम्बन्धी विधेयक तर्जुमा गर्ने काम पनि जारी रहेको बताए ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य प्रसाद सुवेदीले बेलायतस्थित नेपाली प्राज्ञ तथा अनुसन्धानकर्ताहरुले नेपाली विश्वविद्यालय र शैक्षिक संस्थाहरुसंग मिलेर सहकार्य गर्नु पर्ने बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा डा कृष्ण प्रसाद बश्याल, काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्ले तथा पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्रा डा दिपक बहादुर भण्डारीले बेलायतमा कार्यरत नेपाली प्राध्यापक तथा अनुसन्धानकर्ताहरुसंग सहकार्य गर्न आफुहरु तयार रहेको बताए।

कार्यक्रममा बेलायतमा कार्यरत सोलिसिटर दीपक भट्टराई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद दाहाल लगायतले पनि प्रस्तुति गरेका थिए।

कार्यक्रमको दोश्रो दिन आइतबार इन्जिनियर प्रेम लम्सालले नेपालमा सडक दुर्घटनामा हजारौं मानिसहरुको ज्यान गइरहेको तर सरकार, नागरिक समाज तथा मिडियाको पर्याप्त ध्यान नगएको बताए। त्यस्तै वरिष्ठ इन्जिनियर डा बिनोद अमात्यले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात व्यवस्थित गर्न र जाम हटाउन भूमिगत रेल प्रणाली (मेट्रो) मा जानु पर्ने बताए। सडक विभागका महा निर्देशक बिनोद भट्टराईले सडक सुरक्षा र मर्मत सम्भार गर्ने कुरामा विभागले ध्यान दिइरहेको बताए। त्यस्तै सोसाइटी अफ नेप्लिज इन्जिनियर्स युकेका अध्यक्ष रुद्र कोइरालाले आफु हरुले नेपालका इन्जि नियरिंग संस्थाहरुसंग सहकार्य गरि रहेको बताए।

साइबर सुरक्षा विज्ञ निरन्जन कुँवरले नेपालमा सरकार तथा निजी क्षेत्रले साइबर सुरक्षामा बढी ध्यान दिनु पर्ने बताए। त्यस्तै संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले सूचना प्रविधिको विकासका लागि सरकारले काम गरिरहेको बताए।

कार्यक्रममा नेपाल इन्जिनियरिंग परिषदका अध्यक्ष प्रा ड़ा पदम बहादुर शाही, नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष डा हरि बहादुर दर्लामी लगायतले बोलेका थिए।

अर्को सत्रमा अर्थशास्त्री प्रा कुल लुइँटेल, डा केशव भट्टराई, वित्तीय विश्लेषकहरु रबि कार्की, सुजन अधिकारी लगायतले प्रस्तुति गरेका थिए।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले सबैलाई धन्यवाद दिइन्।