२९ बैशाख २०८१, शनिबार
Follow Us

जापानमा नेपाली परिकार बेचेको पैसाले अक्षयकोष

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७४, बुधबार ०५:३९

फलेवास । जापानमा नेपाली परिकार बिक्री गरेको रकम सङ्कलन गरी पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित एक विद्यालयकी पूर्वविद्यार्थीले रु सात लाख रकमको अक्षयकोष स्थापना गर्नुभएको छ । शिवालय माविमा अध्ययनरत विद्यार्थीले भूकम्पपीडित, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोषको स्थापना गर्नुभएको हो । जिल्लाको मोदी गाउँपालिका घर भई हाल जापानको नागासाकीमा बस्दै आउनुभएकी उषा पौडेल भण्डारीले जापानको चिकियोकान नामक संस्थाको समन्वयमा विभिन्न नेपाली परिकार, नेपाली लुगा बिक्री गरेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गर्नुभएको हो ।
नौ वर्षअघि जापान पुगेकी भण्डारीले परिवारका अन्य सदस्यको सहयोग लिएर विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । “पैसा जुटाउनका लागि विभिन्न स्थानमा च्यारिटी शो देखाउने काम पनि गरियो”, उहाँले भन्नुभयो, “जुन उद्देश्य लिएर अभियान थालिएको थियो त्यो उद्देश्य पूरा भयो ।”
गत वर्ष स्थापना भएको नागासाकी–भद्र–सरस्वती अक्षयकोषको ब्याज रकमबाट मङ्गलबार विद्यालयमा भूकम्प गएको दिन पारेर एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडित बालबालिकाका साथै गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।
अक्षयकोष व्यवस्थापनका लागि बनेको समितिको बैठकले विद्यालयमा अध्ययनरत बालबालिका मध्येबाट १२ जना लक्षित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
यसअन्तर्गत भूकम्पपीडित विद्यार्थीमध्ये निश्चल गुरुङ र गणेश सिलवाललाई नगद जनही रु तीन हजार र रु दुईहजार एकसय रकम प्रदान गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीमध्येबाट प्रभात बसेल, लक्ष्मण श्रेष्ठ, अस्मी कुमाल, बबिता भण्डारी, मनिषा विक, शिशिर चापागार्इं, प्रकाश श्रेष्ठ, बिनिता थापामगर, तारा क्षेत्री र एलिसा श्रेष्ठलाई जनही रु दुई हजार एकसय रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा कोषकी अध्यक्ष सरस्वती भण्डारीले सहयोगदाताप्रति आभार प्रकट गर्दै कोषको लक्ष्य र उद्देश्यबमोजिम बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा अन्य क्षेत्रमा सहयोग प्रदानको सिलसिलामा आएका जापानी नागरिकले पनि शिवालय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा व्यवस्थापनका लागि रु २० हजार नगद प्रदान गरेका थिए ।