२६ बैशाख २०८१, बुधबार
Follow Us

वडाध्यक्षसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०८०, बिहीबार १४:०७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा वडाध्यक्षविरुद्ध भ्रष्टाचार आज (बिहीबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

बाराको पचरौता नगरपालिका-४ का वडाध्यक्ष कन्हैयालाल यादवले साबिक बेलदारी गाविस-४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार वडाध्यक्षको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर बापत राज्यकोषमा ८ लाख ११ हजार ९५१ रुपैयाँ घाटा भएको छ ।

अख्तियारले वडाध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।