२१ बैशाख २०८१, शुक्रबार
Follow Us

‘विदेशमा प्रेरणादायी १० नेपाली महिला’

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०८०, बिहीबार २३:१९

लण्डन । जनसङ्ख्यामा महिला अघि पुरुष पछि, चुनावी राजनीतिमा पुरुष अघि महिला पछि। अन्तरराष्ट्रिय नारी दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो। यो वर्ष पनि ८ मार्चका दिन विश्वभरि नारी दिवस मनाउने तयारीमा जुटेका हुन् ।

संसारभरि छरिएका नेपाली महिलाहरुले विश्वका विभिन्न कुनामा पुगेर आफ्नो सकृयता देखाएका छन् । विश्वविद्यालय हुन् वा डिप्लोमेटिक मिसन नेपाली महिलाहरुले हाँकेका छन् । सामाजिक क्षेत्रमा नेपाली महिलाहरुको उत्तिकै योगदान रहेको छ ।

नेपालब्रिटेन डट कमले अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर विदेशी भूमिमा रहेका १० प्रभावशाली नेपाली महिलाहरुको छनोट गरेको छ । सयौंको संख्यामा विदेशमा विभिन्न पेशामा रहेका नेपाली र नेपाली मूलका महिला मध्येबाट १० जनाको नाम छनोट गर्नु सहज काम होइन, तर विभिन्न श्रोतबाट प्राप्त सूचना संकलन गरी हाम्रो टिमले यो सूची तयार पारेको हो।

१. शर्मिला पराजुली (स्पेन)

शर्मिला पराजुली स्पेनको लागि नेपाली राजदुत हुन् । ओमानको राजदूतको रुपमा पाँच वर्षे कार्यकाल पूरा गरे पछि उनलाई स्पेनको जिम्मेवारी दिइएको हो । सन् २०१४ सेप्टेम्बरमा ओमानमा नेपाली दूतावास खुले पछि पहिलो राजदूत पराजुली नै बनेकी थिइन् । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल म्याड्रिडमा ‘एसिया–प्यासिफिक राजदूतहरू’ को डिन चयन भएकी छन् । भारत, चीन, जापान, अस्ट्रेलिया, पाकिस्तानलगायत एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सामेल उक्त राजदूतहरूको समूहको डिनमा सर्वसम्मतिअनुसार ढकाललाई चयन गरिएको हो ।

यसअघि उक्त पदमा अफगानिस्तान थियो । स्पेनमा नेपाली राजदूत उक्त समूहको डिनमा चयन भएको यो पहिलो पटक हो । राजदूत चयन भएपछि आफूले एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरुसँग समन्वय र सहकार्य गरेर काम गर्ने ढकालले बताएकी छन् ।

२. विष्णुमाया परियार (अमेरिका)

विष्णुमाया परियार गएको २० वर्षदेखि अमेरिकामा बसोबास गर्छिन्। । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम तत्कालिन ताक्लुङ गाविस (सहीद लखन गाउपालिका) कोटगाउँको दलित परिवारमा जन्मिएकी विष्णुमायाबारे अमेरिकाकी चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कको जीवनीसमेत समावेश भएको अमेरिकाकै मासाचुसेट्स राज्यको शिक्षा विभागले तयार पारेको पाठ्यक्रममा समावेश गरिएको छ ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर च्याप्टरमा उनीबारेको वृत्तचित्र ‘अनटचेबल’ डकुमेन्ट्रीसमेत देखाएर पढाई हुन्छ । असमानता र जातीय भेदभाव तथा छुवाछूतबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा विष्णुमाया परियारको जीवनी र उनको समताको कार्यलाई राखिएको छ । त्यसैगरी, ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमाया परियारको कहानी पनि समावेश गरिएको छ । उक्त पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा. लिसा हफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा सन् १९८९ देखि अध्यापन हुँदै आएको छ ।

सामाजिक अभियन्ता परियारको ‘दि राइटर्स माइन्डसेट’ मा समेटिएको कहानी ११ सयभन्दा बढी विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढाइ भैसकेकोछ । एड्वानकी संस्थापक तथा अमेरिकाको जर्सी सिटी सहरकी महिला आयोग सदस्य विष्णुमाया परियार उक्त सहरका मेयरको सल्लाहकार समितिमा रहेर पनि काम गरीसकेकिछिन् भने न्यू जर्सी राज्यको एशिया प्यासिफिक आइल्यान्डर कमिसनकी कमिसनर भएर काम गरिरहेकी छन्।


३. डा. शोभा पौडेल (इटाली)

डा शोभा पौडेल एक जलवायुविद हुन्। हाल इटालीको मिलानोमा मेरी क्युरी रिसर्च फेलोको रुपमा कार्यरत पौडेलले दक्षिण एसियामा भइरहेको जलवायुमैत्री खेती प्रविधिको बारेमा अनुसन्धान गर्न युरोपेली संघबाट फेलोसिप पाएकी छन् ।
सन २०१७ मा युनेस्को फेलोसिप पाएपछि उनले नवलपरासीको एक गाउँमा अध्ययन(अनुसन्धान गरिन्। त्यसपछि उनले नेपाल ,भारत र बंगलादेशका विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँगको समन्वय र सहकार्यमा अनुसन्धान गरिन् ।

चितवनको गीतानगरबाट बीबीएस र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमबीएसको अध्ययन पूरा गरेकी पौडेलले जापानको क्योटो विश्वविद्यालयबाट वातावरण व्यवस्थापनमा विद्यावारिधि गरेकी हुन् । डा। पौडेलका अनुसन्धानात्मक लेखहरु नेचरलगायतका अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । उनले जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) ले सन् २०२३ प्रकाशित गरेको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनमा दक्षिण एसियामा भइरहेको जलवायु परिवर्तन र खाद्य सुरक्षामा पारेको प्रभावका बारेमा सहलेखन पनि गरेकी छन् ।

४. रोशन खनाल (यूके)

रोशन खनाल नेपाली राजदूतावास लन्डनकी उपनियोग प्रमुख एवं प्रवक्ता हुन्। उनले यसअघि लण्डनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी पनि सम्हालेकी थिइन् । कडा प्रतिस्पर्द्धा पछि मात्रै प्रवेश पाइने नेपालको परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले यसअघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । पाल्पा जिल्लामा जन्मिएकी खनाल कपिलवस्तु हुँदै हाल काठमाडौंमा बसोवास गर्दै आएकी छन् ।
शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । निकै सरल स्वभावकी खनाल बेलायतमा एक मिलनसार तथा मेहनती करियर डिप्लोम्याटु को रुपमा चिनिन्छन् ।

५. डा. सरिता पाण्डे भट्टराई (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकामा नाक कान घाँटीको सर्जनको रुपमा कार्यरत डा सरिता पाण्डे भट्टराई अफ्रिकामा कार्यरत थोरै नेपाली विशेषज्ञहरु मध्ये एक हुन्। गुल्मीको बिर्घामा जन्मिएर गएको झन्डै ३५ वर्षदेखि दक्षिण अफ्रिकामा बसोबास गरि रहेकी डा सरिताले दक्षिण अफ्रिकाबाटै उच्च शिक्षा पुरा गरेकी हुन्। कोभिड महामारीको बेला उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिमा रहेर प्रवासमा रहेका नेपालीहरुलाई कोभिडबाट कसरी बच्ने र संक्रमित भै सके पछि कसरी सुरक्षित रहने भन्ने जानकारी दिन निकै सक्रिय थिइन्। एनआरएनएले संचालन गरेको टेलि हेल्थु कार्यक्रम सुरुवात गर्न पनि निकै सक्रिय रहेकी सन् २०२१ मा डा सरिताले दक्षिण अफ्रिकामा ‘आत्महत्या रोकथाम सम्बन्धी कार्यशाला’ संचालन गरेकी थिइन्।

एनआरएनएको महिला स्वास्थ्य फोरमकी महासचिव पनि रहेकी डा सरिताले संसारभरि रहेका नेपाली मूलका स्वास्थ्यकर्मीहरु तथा प्रवासी नेपालीहरुका लागि स्वाथ्य सचेतना तथा वृत्ति विकास सम्बन्धी वेबिनारहरु पनि सन्चालन गर्दै आएकी छिन् ।

६. डा. प्रेरणा श्रेष्ठ (अमेरिका)

अमेरिकामा लामो समयदेखि अध्यापनरत नेपाली वैज्ञानिक डा प्रेरणा श्रेष्ठले २९ करोड २५ लाख रुपैयाँबराबरको अनुसन्धानवृत्ति प्राप्त गरेकी छन् ।
अमेरिकी सरकारी निकाय नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले श्रेष्ठलाई २२ लाख डलर अनुसन्धानवृत्ति उपलब्ध गराउने भएको हो । उनी हाल न्युयोर्कको स्टोनी ब्रुक युनिभर्सिटीमा न्युरोबायोलोजी एन्ड बिहेभियर विभागमा अध्यापन गर्छिन् ।

सूक्ष्म कोषिका र त्यसअनुसार निर्मित प्रोटिनहरुले मानव मस्तिष्कलाई कसरी क्रियाशील बनाउँछन् भन्ने विषयमा श्रेष्ठको टोलीले अध्ययन गर्नेछ । गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानवमा आजीवन समस्याका रुपमा रहिरहन सक्छ ।

भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचारमा यो अध्ययन सहयोगी हुने श्रेष्ठले बताएकी छन् । उनले आफ्नो अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित रहने बताइन् । उनको अनुसन्धान सन् २०२७ को अक्टोबरमा सकिने बताइएको छ । श्रेष्ठले सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट जीवन विज्ञान विषयमा विद्यावारिधि गरेकी हुन् ।

७. गौरिका सिंह  (यूके)

स्वीमर गौरिका सिहंले टफ्ट्स युनिभर्सिटी, बस्टन, अमेरिकामा ४ वर्षे ब्याचलर्स कोर्स गरिरहेकी छन् । उनी बेलायतकी स्थायी वासिन्दा हुन् । जापानको फुकुओकामा केही महिनाअघि सम्पन्न २० औं विश्व एक्वाटिक च्याम्पियनसिप– २०२३ मा व्यक्तिगत स्पर्धामा नयाँ चार राष्ट्रिय कीर्तिमान कायम गरेपछि फेरि चर्चामा आएकी थिइन् गौरिका । दक्षिण एसियाली खेलकुद ९साग० मा चार स्वर्ण पदक जितेकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोक आफ्नै ३१ दशमलव ८७ सेकेन्डमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्डमा पुरा गरेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । गौरिकाले उक्त कीर्तिमान सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा बनाएकी हुन् । गौरिकाका पिता डा पारसबहादुर सिंह युरोलोजिस्ट हुन भने आमा गरिमा राणा सन् १९९५ को एसएलसी बोर्ड परीक्षा टपर । गौरिकाका एक भाइ छन् १४ वर्षका सौरेनबहादुर सिंह । खेलकुदबाट मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त रहने हुँदा आफ्नो चयनको खेलमा लाग्नु अपरिहार्य रहेको उनको भनाइ छ । खेलकुदमार्फत कुलतबाट पनि बचिने जनाउँदै गौरिकाले स्वस्थ रहन नियमित व्यायाम र स्वस्थकर खाना आवश्यक पर्नेमा जोड दिन्छिन् ।

८. शुभ एल्मर लामा (स्विट्जरल्याण्ड)

सन् १९८० देखि नै सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आइरहेकी छिन् शुभ एल्मर लामा ।

एनआरएन स्विट्जरल्याण्डको इतिहासमा उनी पहिलो अध्यक्ष निर्वाचित भएकी थिइन् । एनआरएनए स्वीट्जरल्याण्डको नवनिर्वाचित अध्यक्ष लामा युरोपमा नै निकै सक्रिय महिलामध्ये एक हुन्। गैर आवासीय नेपाली संघको १० औ युरोपस्तरीय महिला सम्मेलनमा लामा मष्ट एक्टिभ महिला संयोजकको उपाधिले सम्मानित भएकी थिइन्।

स्विट्जरल्याण्डको ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा बस्दै आएकी लामाकै पहलमा नेपालको जेठो अस्पताल वीर अस्पताललाई १२ वटा ह्विलचेयर सहयोग स्वरुप हस्तान्तरण गरीएको थियो । विकट जिल्लाहरुका गरीब तथा दलित महिलाहरुका लागि स्विट्जरल्याण्डको महिला फोरमले उनकै नेतृत्वमा लाखौं रुपैयाँ सहयोग पठाएको थियो।
उनीसँग टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर काम गरेको पनि अनुभव छ। उनी समाजमा मर्दापर्दाको सारथीको रुपमा स्थापित महिला हुन् । उनी स्विट्जरल्याण्डमा शुभ दिदिको रुपमा चर्चित छन् ।

९. डा. प्रियंवदा पौड्याल (यूके)


जनस्वास्थ्य विषयमा प्राध्यापन गर्दै आएकी डा प्रियंवदा पौड्याल बेलायतमा नेपाली मूलको पहिलो महिला प्रोफेसर बन्न सफल भएकी छन् । उनी बेलायतको वेष्ट मिडल्याण्डमा पर्ने किइल युनिभर्सिटीमा हालै पब्लिक हेल्थ विषयको प्राध्यापकको रुपमा नियुक्त भएकी हुन् । उनले सो युनिभर्सिटीमा ग्लोबल हेल्थ इष्टिच्युटको डाइरेक्टरको जिम्मेवारी पनि सम्हालेकी छन् ।

बेलायतका युनिभर्सिटीहरुमा प्रोफेसर तहमा पुगेर शिक्षा क्षेत्रमा योगदान गर्ने नेपालीहरुको संख्या निकै कम छ । त्यसमा पनि डा पौड्याल छोटो समयमै पहिलो महिला प्रोफेसर भएकी हुन् । चितवनमा जन्मेर हाल ललितपुर घर भएकी प्रोफेसर पौड्याल करिब १७ वर्षअघि अध्ययनका लागि बेलायत आएकी थिइन् । उनले स्कटल्याण्डको एबरडिन युनिभर्सिटीबाट पब्लिक हेल्थमा मास्टर्स डिग्री पूरा गरी सोही युनिभर्सिटीबाट सन् २०११ मा विद्यावारिधि सम्पन्न गरेकी हुन् ।

उनले नेपाल लगायतका विकासशील मुलुकहरुमा जनस्वास्थ्यसँग सम्बन्धित विषयहरुमा अनुसन्धान गर्नुका साथै लेखहरु लेख्दै आएकी छन । खाडी मुलुकमा कार्यरत नेपाली आप्रावासीहरुको स्वास्थ्य अनुसन्धानमा कथावस्तुको प्रयोग गरी जनचेतना जगाउने उनको नौलो अनुसन्धानको निकै चर्चा पनि भएको थियो ।

१०. डा. शबनम कोइराला (अमेरिका)

शबनाम कोइराला आजाद अमेरिकास्थित सान फ्रान्सिस्को विश्वविद्यालयको स्कुल अफ एजुकेशनकी डीन हुन्। उनले दक्षिण एसियाली विद्यार्थी तथा तिनका परिवारले अमेरिका आइ सके पछि एउटा नयाँ परिवेशमा घुलमिल गर्न भोग्नु परेका चुनौती तथा कठिनाइहरु बारे आलोचनात्मक अध्ययन गरी प्रकाशन समेत गरेकी छिन्। उनले जन्मभूमि र कर्मभूमिमा आप्रवासी परिवारहरुले शक्ति र प्रतिनिधित्वका अवसरहरु पाएका छन् कि छैनन् भन्ने बारे पनि अध्ययन गरेकी छिन्। उनले ससाना छोराछोरी हुर्काउँदै अमेरिकी विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापकहरुको अनुभवबारे पनि अनुसन्धान गरेकी छिन् ।