२२ कार्तिक २०८२, शनिबार
Follow Us

महाधिवेशन आयोजना गर्नु लिङ्देनको मूल जिम्मेवारी

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०८२, शनिबार ०६:४२

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल मंसिर १५ गते समाप्त भएसँगै राजेन्द्र लिङ्देनको हैसियत केयरटेकर अध्यक्षमा परिणत हुनेछ । काम चलाउ अध्यक्षको रुपमा निष्पक्ष र विवादरहीत महाधिवेशन आयोजना गर्नु लिङ्देनको मूल जिम्मेवारी रहने छ ।

तर, कसैलाई सल्लाह र विश्वासमा नलिने लिङ्देनको एकलौटी र मनपरी कार्यशैलीमा कारण अध्यक्षले निष्पक्ष र सन्तुलित महाधिवेशन सम्पन्न गर्छन् भन्ने राप्रपावृत्तमा विश्वास छैन । वरिष्ठ नेताहरु नै लिङ्देनप्रति विश्वस्त छैनन्, कतिपय त लिङ्देनले बोलाएको वैठकमै जान छाडिसके ।

अध्यक्ष लिङ्देनले पार्टीमा सबैलाई समेट्नेभन्दा मन नपर्नेहरुलाई पार्टी छाडेर जाउ भन्दै आएका छन् । जसकारण लिङ्देन अध्यक्षको रुपमा सबैले स्वीकार्ने अभिभावक बन्न चुकेका छन् ।

जिल्ला अधिवेशनको नतिजामा प्रभाव पार्न लिङ्देनले भर्खरै जुम्लाका अध्यक्ष र नेताहरुलाई एक वर्ष पुरानो घटनामा कारवाही गरेपछि र उदयपुरमा विपक्षी टीम विजयी हुने देखेर ठाडो हस्तक्षेप गर्दै अधिवेशन बिथोलेपछि लिङ्देनले महाधिवेशनमा धाँधली गर्छन् भन्ने जनमत राप्रपामा व्यापक बनेको छ ।

यसकारण महाधिवेशन सम्पन्न गर्न कस्तो संयन्त्र र समझदारी निर्माण गर्ने भन्ने राप्रपावृत्तमा चासो र चिन्ता छ । ‘लिङ्देनले सबै पक्षलाई चित्त बुझ्ने, निष्पक्ष महाधिवेशन सम्पन्न गर्छन् भन्ने कसैलाई विश्वास छैन ।’ एक नेताले भने, ‘नेतृत्वको कार्यशैली एकता महाधिवेशनको नीति र निर्णय विपरीत छ । पार्टीभित्र मात्र हैन, राष्ट्रिय राजनीतिमा समेत राप्रपा कुनै उपस्थितमा छैन । नेतृत्व नै महाधिवेशनको म्याण्डेटविपरीत गएको देख्दा शंका उपशंका उत्पन्न भएको छ ।’

यही अवस्थाबीच लिङ्देनको अध्यक्षतामा राप्रपा चुनावमा गए अति कमजोर नतिजा हात लाग्ने देखिन्छ, नयाँ पुस्ताका राजसंस्था समर्थक रमेश दाहाल बताउँछन् । ‘राजसंस्था पूनर्स्थापनाको आन्दोलन जसले तुहायो उही नेतृत्व कायम रहे राप्रपाको पतन निश्चित छ । लिङ्देनको मुख हेरेर राजा र धर्म मान्ने कसैले भोट हाल्दैनन्,’ उनी भन्छन् ।

यता लिङ्देन भने प्राविधिक अड्चन अघि सारेर समयमा महाधिवेशन नगर्ने योजनामा छन् । पार्टी र चुनाव कब्जा गर्ने उनको चाहना कति सफल हुन्छ हेर्न बाँकि छ । यही कुरा बुझेर राप्रपाका राष्ट्रवादी छवी बोकेका नेता कार्यकर्ताहरु पार्टी र मुद्दा बचाउन कम्मर कसेर लागेका छन् । महामन्त्री डा. धवलशम्सेर राणाको नेतृत्वमा यो अभियान जारी छ ।

उनलाई दुई पूर्वअध्यक्ष पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनी, त्यसैगरी वरिष्ठ नेता विक्रम पाण्डेको सद्भाव र समर्थन प्राप्त छ । शुक्रबार सम्पन्न राप्रपाको पदाधिकारी वैठकमा पूर्वअध्यक्ष राणाले घरभित्रको संकट मिलाउन लिङ्देनलाई स्पष्ट शब्दमा भने । उपाध्यक्षहरु बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधानले पार्टीमा देखिएको समस्या मिलाउनुपर्छ भन्दै धारणा राखे ।

पार्टीको अभिभावकको रुपमा पूर्वअध्यक्ष लोहनीले धेरै पटक लिङ्देनलाई आन्तरिक विवाद मिलाउन सुझाव दिइसकेका छन् । वार्ताको कुनै औचित्य छैन भन्दै लिङ्देन तर्किरहेका छन्, पार्टीलाई एकतावद्ध राख्न इच्छा र तत्परता देखाएका छैनन् । बरु पार्टी केन्द्रीय कार्यालयमा बसेर ‘मसँग जोरी खोज्ने सिद्धीन्छन्, मर्छन्‌’ भन्दै लिङ्देनले विपक्षी धारका नेताहरुलाई अपशब्द प्रयोग गरेर गाली गर्ने गरेका छन् ।

जसरी पनि अध्यक्ष बन्ने लिङ्देनको मनोवृत्तिबाट सबै आजित छन् । यसरी पार्टी सिद्धिने भयो भनेर जिम्मेवार नेताहरु नै बोल्न थालेका छन्, एक पदाधिकारीले भने । ‘शुक्रबार सम्पन्न पदाधिकारी वैठकमा यही माहोल देखियो, लिङ्देन एक्लिएको सन्देश प्रवाह भयो ।’ प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि हालै गुट नबनाउन, गुटबन्दी नगर्न अध्यक्षलाई सार्वजनिक रुपमै सुझाव दिएका छन् ।

धेरै पढिएको