१९ बैशाख २०८१, बुधबार
Follow Us

जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान थाल्छौँ: सीआईबी प्रमुख ज्ञवाली

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०८०, आईतवार १३:४५

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोका (सिआईबी) का नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीले सुन तस्करी जाँचबुझ आयोगले त्रुटि औँल्याएको विषयमा अनुसन्धान सुरु गर्ने बताएका छन ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्ण बहादुर महरा सहितका ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिसकेको छ । आयोगको प्रतिवेदन हालसम्म प्राप्त नभएको भन्दै उनले भने, ‘आयोगले थप अनुसन्धान गर्नुपर्ने विषयमा अनुसन्धान गरेर मुद्दा अघि बढाउँछ।’

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनको अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आयोगको निष्कर्ष रहेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठीत जाँचबुझ आयोगले साढे ५ महिना जाँचबुझ गरेर अनुसन्धानमा त्रुटि रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन र भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुनबारे ब्युरोले पुनः अनुसन्धान गर्ने भएको छ । अनुसन्धान गर्दा ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा र डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले गम्भीर ‘त्रुटि गरेको आयोगको ठहर छ ।

आयोगले बज्राचार्य सहित चारै जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदन अध्ययन गरेपछि थप गर्नुपर्ने पाटोमा अनुसन्धान सुरु गरिने प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिएका छन । ज्ञवालीले भने, ‘प्रतिवेदन अध्ययन गरेपछि हामी अनुसन्धानको पाटोमा अघि बढ्छौँ ।’