१९ बैशाख २०८१, बुधबार
Follow Us

अन्तर्राष्ट्रिय चिया सम्मेलन: एनआरएनले कोशी प्रदेश सरकारसँग सहकार्य गर्ने

नेपालब्रिटेन डट कम्
४ चैत्र २०८०, आईतवार १६:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा सहकार्य गर्ने भएको छ । संघको काठमाण्डौस्थित सचिवालयमा आज (चैत,४ २०८०) भएको एक कार्यक्रममा नेपालमा उत्पादित चियालाई विश्व बजारमा व्यापक प्रचार–प्रसार गरी विक्री वितरण र निकासीलाई प्रबर्द्धन गर्न कोशी प्रदेश सरकारबाट आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलनमा संघले पनि प्रदेश सरकारसँग सहकार्य गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोईराला र गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले हस्ताक्षर उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष डा केसीले आगामी जुन २१ देखि २३ सम्म आयोजना हुने सम्मेलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन चाहने चिया खरिद, विक्रीकर्ता लगायत सरोकारवालाहरू तथा अन्य अन्तर्राष्ट्रियस्तरका पाहुनाको नेपाल आगमनका लागि सहज वातावरण बनाउन सम्बन्धित देशका दूताबास लगायत नेपाल सरकारका सरोकारवाला सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिने लगायतमा आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।
संघ र प्रदेश सरकारबीच भएको सहमतिपत्रमा नेपालकै सबैभन्दा बढी चिया उत्पादन हुने यस कोशी प्रदेशमा लगानीका लागि पहिचान भएको चिया क्षेत्रको अझ बढी विश्व बजारीकरण गर्ने वातावरण तयार पार्न चिया क्षेत्रमा संलग्न किसान, उद्योगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यापारी, विभिन्न संघ संस्था लगायत सबै सरोकारवाला पक्षलाई सामूहिक रूपमा एउटै मञ्चमा भेला गराई अन्तरक्रिया तथा छलफलका लागि चिया उत्पादन हुने आगामी सिजनमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गरी उत्पादित चियालाई विश्व बजारमा परिचित गराउन बढी भन्दा बढी चियाको माग सृजना गरी उत्पादन, विक्री वितरण र निकासीलाई समेत प्रवर्द्धन गर्ने लगायतमा विषयमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यस्तै आयोजित सम्मेलनमा प्राप्त भएका राय सुझाव तथा सम्बन्धित सरोकारवाला पक्षबाट प्राप्त प्रतिबद्धतालाई लिपीबद्ध गरी अभिलेखिकरण गर्ने कार्यमा प्रथम पक्षलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता संघले जनाएको छ ।
चिया सम्मेलन आयोजक कमिटीमा संघको तर्फबाट महिला उपाध्यक्ष रोजिना प्रधान राईलाई संघको तर्फबाट प्रतिनिधि तोकिएको छ ।
कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव राधिका गुरुङ (टीका), संघका सल्लाहकार टीबी कार्की र अतुल कोइराला, भुवन खराल (आइसीसी सदस्य) एनआरएन फाउण्डेशनका अध्यक्ष राम प्रताप थापा, हङकङका लागि पर्यटन प्रवद्र्धन दूत तेजप्रकाश पुन राजु शर्मा लिम्बु, (नेपाल चिया एशोसिएसन समाज), कमलराज मैनाली, केदारमणि पौडेल (नेपाल चिया संघ), डा एक नारायण चापागाई (नेचर हिमालय टी), लगायतको उपस्थिति रहेको थियो ।