२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधि सभाको उपनिर्वाचन: इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०८०, बुधबार १४:२८

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागी इलाम–२ बाट कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको एक नेताले जानकारी दिएका छन ।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले जानकारी दिएका छन । आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने उनले जानकारी दिएका छन ।

प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ । पहिलो नम्बरमा सिफारिस भएका आचार्य कांग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन् ।

खड्का २०७९ सालको निर्वाचनमा नेम्वाङसँग पराजित उम्मेदवार हुन् । त्यस्तै केशव थापा पूर्वसांसद तथा पूर्वराज्यमन्त्री हुन् । नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन् ।