काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी दर्ता भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितहरुले आज बिहिबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन ।
सूर्यदर्शन सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने सूर्यदर्शन बचतपीडित संघर्ष समितिले जानकारी दिएको छ ।
संघर्ष समितिले दुई वर्षदेखि आफ्नो बचत फिर्ता नपाएका पीडितहरु कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई पक्राउ नपरेको उजुरीमा उल्लेख गरेको छ ।
उनीहरूले राईले सहकारीको पैसा हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० करोड रुपैयाँ लगानी गरेको देखिएको लामिछाने र राई दुवैलाई तत्काल कानुनी कारबाही गर्न माग गरेर उजुरी दर्ता गराएको उनले जानकारी दिएका छन ।
सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नम्बर १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिएका छन । उनीहरुले गत माघ २२ गते पूरक जाहेरीमार्फत लामिछानेमाथि उजुरी दिएपनि छानबिन नगरिएको गुनासो गरेका छन् ।
यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले १९ जना विरुद्ध किटानी जाहेरी दिइएपनि हालसम्म १४ जना पक्राउ पर्न नसकेको बताएका छन् ।