२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बालुवाटारमा माधवको चेतावनी: बझाङमा हामीलाई कसैले रोक्न सक्दैन !

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८०, सोमबार १४:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने घोषणा गरेका छन । त्यसका लागि उनले पार्टीमा छलफल र तयारी भइरहेको जानकारी दिएका छन । भेटवार्ताको क्रममा अध्यक्ष नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएरै छाड्ने अडान राखेका हुन् ।

बालुवाटारमा तीन नेताबिचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । बालुवाटार बैठकमा ओलीले प्रचण्ड र नेपाललाई भनेका थिए, ‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ ।

ती दुवै ठाउँमा माओवादी र समाजवादी भन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ’ । ओलीको भनाइ सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमै अघि बढ्न तयार रहेको बताएका थिए । माओवादीले अहिलेसम्म उम्मेदवार तय गरिसकेको छैन । ओली र प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए ।

माधवले यसो भनेपछि अध्यक्ष ओलीले उम्मेदवार घोषणा गरिसकेकाले पछि फर्कन एमाले असमर्थ रहने बताएका थिए । त्यसपछि नेता नेपालले प्रचण्डलाई माओवादीबाट उम्मेदवार नउठाएर आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन भनेका थिए । जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गर्ने बचन दिएका थिए ।

बालुवाटार छलफल लगत्तै सोमबार काभ्रेको बनेपा पुगेर अध्यक्ष नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको स्थानीय नेता कार्यकर्तालाई बताएका छन् ।

बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने त्यो सम्भव नभए एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए ।