२७ आश्विन २०८३, मंगलवार
Follow Us

खगेन्द्र सुनारलाई माननीयको हैसियतमा कतै देखा नपर्न रास्वपाको निर्देशन

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८३, मंगलवार ०४:०७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि लागेका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। पार्टीले छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उठाइएका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ।

पार्टीले सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपहरू गम्भीर र संवेदनशील रहेको उल्लेख गरेको छ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले स्पष्ट पारेको छ।

यी विषयको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ।

रास्वपाले राज्यका सम्बन्धित निकायबाट पनि अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ।

कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने पनि पार्टीले स्पष्ट पारेको छ।

धेरै पढिएको