१५ बैशाख २०८१, शनिबार
Follow Us

भूतपूर्व गोर्खाको समान पेन्सनको लागि बेलायतले यथोचित समाधान खोज्ने

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०८०, बुधबार २०:२८

लण्डन । बेलायत सरकारले भूतपूर्व गोर्खाको समान पेन्सनको लागि यथोचित समाधानको लागि सम्भावनाहरुको बारेमा छलफल गर्ने भएको छ ।

भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको चौथो बैठकमा विहिवार बोल्दै बेलायती रक्षा राज्य मन्त्री एन्ड्रिउ मुरिसनले नेपाल र बेलायतबीचको ऐतिहासिक एवमं घनिष्ठ सम्बन्धको बारेमा चर्चा गरे ।

उनले भूपू गोर्खाहरुले बेलायती सेनामा पुर्याएको योगदानको कदर गर्ने विचार व्यक्त गर्दै पेन्सनको विषयमा यथोचित समाधानका लागि के गर्न सकिन्छ भन्ने बारे उपयुक्त सम्भावनाहरु प्रस्ताव गर्न आग्रह गरे ।

नेपाली दूतावास लण्डनका अनुसार समान पेन्सनको विषयमा आगामी वैठकमा छलफल गर्न बेलायत सरकार तयार रहेको छ ।

उक्त बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्य मन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य एवं भूपू गोर्खाहरुका तर्फबाट मेजर (अप्रा) जुदबहादुर गुरुङ्गले गरेका थिए ।

बैठकमा यसअघि भएका द्विपक्षीय समितिका वैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षा गर्दै मुख्य एजेन्डा पेन्सनका विषयमा विस्तृत छलफल भएको नेपाली दुतावास लण्डनले जनाएको छ ।

नेपालको तर्फबाट राजदूत आचार्यले भूपू गोर्खाहरुको मुख्य माग समान पेन्सनको मागलाई पुष्टि गर्ने बिभिन्न तर्क तथा प्रमाणहरु पेश गरेका थिए ।

उनले भूपू गोर्खाको मुख्य मागहरु मुख्यतया पेन्सनका विषयमा दीर्घकालीन समस्याको समाधान निकाल्न आग्रह गरे ।

बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले भूपू गोर्खाको माग सम्बोधनको विषयलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको बताए ।

भूपू गोर्खाहरुको तर्फबाट उपस्थित मेजर (अप्रा) जुदबहादुर गुरुङ्ग, मेजर (अप्रा) टिकेन्द्र दल देवान, कृष्णबहादुर राई, धर्मबहादुर तामाङ, केशबहादुर गुरुङ्ग तथा ज्ञानराज राईले समान पेन्सनका विषयमा धारणहरु प्रस्तुत गरे ।

बैठकमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।
बैठकमा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको शुभकामना सन्देश पढेर सुनाइएको थियो । मन्त्री श्रेष्ठले भूपू गोर्खाका मागहरुको उदारतापूर्वक समाधानका लागि बेलायती पक्षलाई अनुरोध गरेका छन् ।