२८ आश्विन २०८२, मंगलवार
Follow Us

जनसम्पर्क समितिका ६० प्रतिशतले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०८२, मंगलवार १४:४८

लण्डन । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिएका करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।

मंगलबार सम्म विदेशस्थित नेपाली जनसम्पर्क समितिका १९५ जना महाधिवेशनप्रतिनिधि मध्ये ११५ जनाले प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने कुरा राखेपछि विशेष महाधिवेशनका पक्षमा देशैभर हस्ताक्षर संकलन गर्न थाले पछि विदेशस्थित नेपाली जनसम्पर्क समितिमा समेत हस्ताक्षर अभियान शुरु गरिएको थियो ।

यसैबीच देशैभरीबाट ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउने तयारी गरिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउन केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरू पुगेका छन्। कार्यवाहक सभापति खड्का र महामन्त्री गगन थापासहित नेताहरूबीच छलफल पनि चलिरहेको छ।

कार्यवाहक सभापति खड्काले समय दिएपछि हस्ताक्षर बुझाउने उनीहरूको तयारी छ।

यदि कार्यवाहक सभापतिले हस्ताक्षर नबुझे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई हस्ताक्षर बुझाउने तयारी छ।

कांग्रेसमा २०७८ सालमा १४ औं महाधिवेशन गर्दा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। त्यसमध्ये ४६ जनाको मृत्यु भएको छ भने ६८ जनाले दल त्याग गरेका छन्।

अहिले कायम महाधिवेशन प्रतिनिधि ४५५६ जना छन्। जसमध्ये २४८७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्।

धेरै पढिएको