२८ आश्विन २०८२, मंगलवार
Follow Us

गिरिबन्धु प्रकरणबारे गृहमन्त्री- ‘मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला’

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०८२, मंगलवार ०५:४०

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बहुचर्चित गिरिबन्धु टी-स्टेटको जग्गा प्रकरणका फाइलहरू खोल्नका लागि सार्वजनिक रूपमा उजुरी दिन आह्वान गरेका छन् । सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गृहमन्त्री अर्यालले नागरिक समाजले निरन्तर उठाउँदै आएका यस्ता संवेदनशील प्रकरणहरूमाथि छानबिन अगाडि बढाउन पीडितहरू स्वयंले राज्य संयन्त्रमा लिखित उजुरी दिनुपर्ने बताएका हुन् ।

गृहमन्त्री अर्यालले आफू मन्त्रीका रूपमा उजुरी हाल्दै हिँड्न नमिल्ने स्पष्ट पार्दै, जबसम्म लिखित रूपमा राज्यका सम्बन्धित निकायहरूमा उजुरी पर्दैन, तबसम्म प्रक्रिया अगाडि बढाउन कानुनी अड्चन आउने धारणा राखे । उनले अब देश ‘आदेश’ भन्दा ‘कानुन’ द्वारा सञ्चालित रहेकोमा जोड दिए ।

‘पहिले आदेशले हुन्थ्यो, अहिले कानुनले हुन्छ । जे छ, कानुनबमोजिम हुन्छ । भइरहेको कानुन कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानुनले आफ्नो कार्य लिन्छ,’ गृहमन्त्री अर्यालले भने, ‘अब बडो अर्ग्यानिक वेमा हुन्छ । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानुन हेरिन्छ, उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्दछन् । जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ । यो सुशासनको मान्यता नै त्यही हो । फेयरनेस, कानुनी आधार, प्रमाण चाहिन्छ, राज्य संयन्त्र त्यसैगरी चल्नुपर्छ ।’

उनले राज्य संयन्त्रले कुनै पनि पूर्वाग्रह नराखी निष्पक्ष रूपमा कानुन, प्रमाण र उजुरीका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्यालले कानुनको दृष्टिमा सबै समान रहेको बताउँदै गल्ती गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गरिनुपर्नेमा जोड दिए ।

गिरिबन्धु लगायतका अन्य प्रकरणहरूमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा प्रहरी प्रशासन मार्फत औपचारिक उजुरी आउनुपर्ने उनको भनाइ छ । ‘मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला,’ उनले भने, ‘तर पीडितले बैना दिनुभएको छ, बैना सङ्कलन गरियो, त्यही बैना सायद घुसको रूपमा प्रयोग पनि भयो कि ? त्यही बैनाबापतको पैसा निर्णय गराउने कुरामा खर्च गरियो कि ? यो कुरा त जसले देखेको, भोगेको, पीडित भएको मान्छेले राज्य संयन्त्रमा ल्याइदिनुपर्छ ।’

गृहमन्त्री अर्यालको यो आह्वानले गिरिबन्धु प्रकरणमा नयाँ मोड आउन सक्ने सम्भावना बढेको छ । यसैबीच, उनले तोकिएको समयमै निर्वाचन सम्पन्न हुनेमा पनि विश्वास व्यक्त गरे ।

धेरै पढिएको