१८ बैशाख २०८१, मंगलवार
Follow Us

प्रमुख प्रशासकीय अधिकृत परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीबीच भेट

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०८१, बुधबार ०६:१८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यु लेवीसबीच भेट भएको छ ।

काठमाडौँ प्लाजामा भएको भेटमा साझा कार्यक्रम र सहकार्यका विषयमा छलफल भएको थियो । भेटका क्रममा सहरी व्यवस्थापनमा आपसी प्रशासनिक प्रक्रिया, सेवा व्यवस्थापनलाई चुस्त बनाउन प्रयोग गरिएका विद्युतीय सेवा र सम्भावित आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।

‘फरक परिवेशका दुई सहरका बिचमा असल अभ्यासहरूको प्रवर्धन र सिकाइ आदानप्रदान गर्न सकिन्छ,’ भेटमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘सेवा, सुविधा र विकास व्यवस्थापन, विद्युतीय सेवा प्रवाह र पेसागत दक्षता अभिवृद्धि गर्ने जस्ता कार्यक्रमलाई साझा कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिन्छ ।’

भेटका क्रममा सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्युले भने, ‘सहरहरूका प्रशासनिक समस्या उस्तै छन् । यसलाई समाधान गर्ने तथा साझा प्रयत्नबाट सेवाको गुणस्तर सुधार गर्ने दिशामा काठमाडौँ र लिभरपुलबिच सहकार्य गर्न सकिन्छ ।’ कार्यक्रममा महानगरका वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले काठमाडौँको राजनीतिक, प्रशासनिक तथा सहरी व्यवस्थापन अभ्यासका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

परियारको सभाकक्षमा सोमबार भएको भेटमा महानगरका विभागीय प्रमुखहरू सहभागिता थियो । काठमाडौँ युनेस्को रचनात्मक सहरमा सूचीकृत भएको छ ।