१६ जेष्ठ २०८१, बुधबार
Follow Us

गुरुङको शव नबुझेरै घर फर्किए परिवार

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०८१, बिहीबार ०५:५८

कर्णाली । आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी समस्या लिएर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकी थिइन् ।

प्रदेश अस्पतालका चिकित्सकले पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनी भर्ना गरेको थियो । गत चैत २९ गते उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकको टोलीले ‘केस’ सामान्य भएकाले चिन्ता लिनु नपर्ने जनाउँदै शल्यक्रिया कक्षमा लिइएको परिवारका आफन्त कृष्णबहादुर गुरुङले जानकारी दिए ।

उनले भने, “सोही दिन अपराह्न ३ बज्न १० मिनेट अगाडिसम्म सबै ठीकै छ भनेर रगत चढाइरहेकामा एक्कासि ३ बजेतिर तपाईंको बिरामी अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको र त्यसको केही समयपछि मृत्यु भएको जानकारी गराइयो । शल्यक्रियाका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नगराइनु र डाक्टरको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापर्वाहीका कारण गुरुङको मृत्यु भएको ठहर हुन्छ ।”

भीमाको मृत्युका कारण आक्रोशित आफन्तले अस्पतालमा होहल्ला समेत गरेका थिए । सो क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिएका थिए ।

पीडित पक्षले भने केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई कुनै जानकारी नगराइएको आरोप लगाएका छन् ।

पीडितको प्रश्न गर्दै भनेका छन्, “केश गम्भीर एवं जटिल हुँदा स्त्रीरोगसम्बन्धी सिनियर डाक्टर उपचारमा किन संलग्न हुन सकेनन् ? निर्देशक डा खड्का स्वयं स्त्रीरोग विशेषज्ञ हुँदाहुँदै आफैँले किन उपचारमा चासो दिनुभएन ? उनीहरुले निर्देशक डा खड्का निजी अस्पताल सञ्चालक भएकाले आफ्नै निजी अस्पताल र क्लिनिकप्रति बढी चासो दिएकाले भीमाले मृत्युवरण गरेकोसमेत दोषारोपण गरेका छन् ।”

अस्पतालको चरम लापर्वाहीका कारण आठ महिने दूधे बालिकाको बेहाल भएको भन्दै उनीहरुले गुरुङ मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने मृतकका श्रीमान् नवराज बलामी मगरले बताए ।