१४ असार २०८१, बिहीबार
Follow Us

मन्त्री फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०८१, मंगलवार १३:०४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श सुरु गरेका छन ।

सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग परामर्श सुरु गरेको स्रोतले जानकारी दिएको छ ।

उनले केही दिन यता एमालेका अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग लगातार भेटवार्ता गरिरहेका छन् ।

भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन, मधेस सरकार गठन, सुदूरपश्चिम सरकार विस्तार लगायत संसद्को काम कारबाहीबारे छलफल भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

यी सबै विषयमा शीर्ष नेताहरूबिच लगातार छलफल भए पनि कुनै निष्कर्ष नआएको उनले जानकारी दिएका छन । नाउपा र जनमत पार्टीलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति नभएको बर्तौलाले जानकारी दिएका छन ।

मधेस सरकार गठनको विषयमा सहमति जुटेपछि एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ । यसै विषयमा सहमति जुटाउन प्रचण्डले शुक्रबार सत्ता साझेदार दलहरू एमालेका अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गरेका थिए ।

आइतबार र सोमबार पनि उनले ओली र नेपालसँगको सम्वाद जारी राखे । प्रचण्डले आइतबार ओली र नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

बिहान नेपालसँग छुट्टै भेटेका प्रचण्डले त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, ओली र नेपालसँग भेटवार्ता गरेका थिए ।

देउवासँगको भेट राजनीतिक सद्भावका रुपमा भएको बर्तौलाले दाबी गरे । सहकारी समस्या समाधानका लागि गठन भएको छानबिन समितिको काम कारबाही र संसद्को वातावरण सौहार्द्रपूर्ण बनाउन छलफल भएको बर्तौलाले जानकारी दिएका छन ।