१४ असार २०८१, बिहीबार
Follow Us

किरात बान्तावा रुङमाहाङ वातुङ युकेको अध्यक्षमा विनोद कुमार राई

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०८१, सोमबार १७:३०

लण्डन । किरात बान्तावा रुङमाहाङ वातुङ समिति युकेको अधिवेसनले विनोदकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
८ जुन २०२४ शनिबारका दिन किरात राई हाउस ग्याम्बल्स लेनमा भएको सो अधिवेसनको ज्येष्ठ सदस्यले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गर्नु भएपछि शुरु भएको कार्यक्रममा पूर्खा र दिवङ्गत हुनुभएकाहरुको सम्झना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । लगत्तै रुङमाहाङ वंशको राष्ट्रिय वंशीय गीत सबैले गाएर कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई निवर्तमान उपाध्यक्षले स्वागत गर्नु भएको थियो भने नयाँ सदस्यहरुलाई खादा ओढाएर स्वागत गरिएको थियो ।
सल्लाहकार छेत्रकला राईले शुरुवातदेखि आफूले थाहा पाएको संस्थाको कार्यक्रम र यहाँसम्म कसरी वातुङ आइ पुग्यो भन्ने बारे प्रष्ट पार्नु भयो ।
कोरोना महामारीका कारण झन्डै ६ वर्षे लामो कार्यकाल पूरा गरी निवर्तमान अध्यक्ष युद्धराज राईको नेतृत्वको कार्यसमितिले प्रतिवेदनहरु प्रस्तुत गरेपछि सर्वसम्मतरूपमा सबै प्रतिवेदनहरू पारित गरिएको थियो ।
त्यसपछि आफ्नो कार्यसमिति बिघटन गरेर नयाँ कार्य समितिको चयनका निमित्त निर्वाचन कमिटीलाई जिम्मेवारी दिनु भएको थियो ।
वंशीय पारिवारिक समिति भएकाले सर्बसम्मत मन्जुरी र सहमतिमा पूर्व उपाध्यक्ष विनोदकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो । नयाँ कार्यसमितिमा उपाध्यक्ष पोपीराज राई, सचिव भूमिराज राई, कोषाध्यक्ष रन्जित राई, सहसचिव किरण राई, सहकोषाध्यक्ष निर्मल राई, सदस्यहरुमा पूजा बान्तावा, तायाहाङ्मा राई, मिलन राई, दिपेन राई, दिवाहाङ्ग राई, झण्ड राई र रविन राई रहनु भएको छ ।

किरात बान्तावा रुङमाहाङ्ग राई वातुङ समिति बेलायतको सल्लाहकारहरुमा जंगराज राई, युद्धराज राई र श्रीमती छेत्रकला राई रहनु भएको छ ।
नयाँ कार्य समिति चयनपश्चात अध्यक्ष विनोदकुमार राईले अत्यन्तै कठिन समयमा बंशीय वातुङलाई यहाँसम्म सफलतापूर्वक ल्याएर आफ्नो जिम्मेवारी सुम्पनु भएको प्रति धन्यवाद दिंदै पूर्व अध्यक्ष युद्धराज राईको कार्यकालमा धेरै उपलब्धिमूलक कार्य गर्न सघाउने युके वातुङका वंश र छोरीचेली अनि ज्वाईं चेला सम्पूर्णप्रति कृतज्ञता प्रकट गर्नु भयो ।
निवर्तमान समितिको मुख्य उपलब्धिहरुमा ललितपुर गोदावरीस्थित गोदाम चौरमा सफल ब्यवसायी वंश नन्दराज राईको नेतृत्वमा निर्मित नेपालकै उत्कृष्ठ नमुना माङखिम, किरात बान्तावा रुङमाहाङ राईहरुको सामूहिक माङ्खिम / चुलाघर तथा संग्रहालय निर्माणमा युके वातुङले ५० लाख बराबरको आर्थिक सहयोग गर्न सफल भएको छ ।

उपाध्यक्ष पोपीराज राईले पनि पूर्व कार्य समिति युके वातुङलाई यहाँसम्म ल्याई पुर्याउन सफल हुनुभएको भन्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिनु भएको थियो ।

रुङमाहाङ बातुङ समिति युकेमा यो वर्ष तीन जना नयाँ सदस्यहरु अर्जुनभक्त राई (ज्वाईँ चेला), देवी राई र दिपा राई (अमेरिका) ले सदस्यता लिनु भयो ।
आवश्यकता अनुसार सदस्यहरु, उपाध्यक्ष र सल्लाहकार थप गर्ने सहमतिसहित कार्यक्रममा उपस्थित छोरीचेली र ज्वाईंचेलाहरुले ल्याईदिनु भएको कोशेली र उपस्थित वा अनुपस्थित वंशहरुले कार्यक्रम आयोजना गर्न वंशको दायित्व हरेक परिवारले एकसय पाउण्डका दरले सहयोग गर्नु भएकोमा पुरानो कार्यसमिति र नयाँ कार्यसमिति दुवैको तर्फबाट सम्पूर्णलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा ओजोन रेस्टुरेन्टले अत्यन्तै मीठो खाना उपलब्ध गराएको थियो । कार्यक्रमको संचालन निवर्तमान सचिव प्रदिप राई र भूमिराज राईले गरेका थिए ।
सन् २००८ मा बेलायतमा दयासागर राईको अध्यक्षतामा फोल्कस्टोन, केन्ट युकेमा किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युके गठन भएको थियो । यो नेपाल केन्द्रीय वातुङ समिति कै विधि विधान र छत्रछाँयामा संचालन भैरहेको वंशीय समिति हो ।

‘रगत र दुधको रक्षा गरौं” भन्ने नाराका साथ किरात बान्तावा रुङमाहाङ राई वंशको वातुङ समिति पूर्व सिडिओ प्रेम कुमार राईले विसं २०२६ सालमा भोजपुर जिल्लाको दिल्पामा गठन गर्नु भएको थियो । वातुङको अहिलेसम्म विभिन्न मिति र स्थानमा राष्ट्रिय सम्मेलन सम्पन्न भएका छन् । केही वर्ष अघि वातुङ स्थापनाको ५० सौं वर्ष गाँठ स्वर्ण जयन्ती भोजपुरमा सम्पन्न भएको थियो ।
वातुङ समिति युकेले हरेक वर्ष एकदिन वंश र छोरीचेली, ज्वाईंचेला भानाभान्जीहरुको सामूहिक भेला आयोजना गरेर भेटघाट र चिनजान कार्यक्रम आयोजना गर्ने गर्दछ । वंशहरुले मात्रै खर्च व्यहोरेर छोरीचेली, ज्वाईंचेलाहरुलाई कार्यक्रममा स्वागत गर्ने चलन छ ।

दु:ख बिमार, मराउ पराउमा समितिको विधानले तोकेअनुसार आर्थिक सहयोग र परेको बेला नेपालमा पनि आर्थिक सहयोग गर्ने गरिएको छ ।
किरात बान्तावा रुङमाहाङ राईहरुलाई परेको बेला औषधोपचार गर्नकै निमित्त किरात बान्तावा रुङमाहाङ समाजले औषधोपचार कल्याणकारी कोष काठमान्डौ नेपालमा शुरु गरेको छ ।
– भुमिराज राई