दोहोरी, सोरठी, सालैजो, ठाडो भाका, कौडा र यानिमाया जस्ता गीतहरूको बेजोड प्रस्तुति रहने
लण्डन। गत वर्षहरूमा जस्तै यो वर्ष पनि बाग्लुङबाट बेलायत आएर बसोबास गर्ने बाग्लुङ्गेहरूको भेला हुने भएको छ।
बाग्लुङ्ग समाज यूकेको आयोजनामा वार्षिक भेटघाट कार्यक्रम यही आउँदो शनिबार, २२ जुनमा हुन लागेको हो। अल्टरसटको एम्पायर हलमा हुने कार्यक्रममा बाग्लुङ्ग जिल्ला साथै राष्ट्रियस्तरका बहुचर्चित लोकदोहोरी कलाकारद्वय गायक युवराज मगर र गायिका दिलु सलामी मगरले आ-आफ्नो प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा दोहोरी, सोरठी, सालैजो, ठाडो भाका, कौडा र यानिमाया जस्ता गीतहरूको बेजोड प्रस्तुति रहने छ।
कार्यक्रमलाई थप मनोरन्जन दिन स्थानीय कलाकारद्वारा कौडा, स्विन्डनबासी बाग्लुङ्गेहरूको सोरठी, सन्तोष पुनको स्टेज प्रस्तुति र बाग्लुङ्गे नौमती बाजाको प्रस्तुति रहने आयोजकले जनाएको छ।
बाग्लुङ्ग जिल्लाको मौलिकता झल्किने डम्फु मादलको साथमा झ्याउरे र झाम्रे जस्ता थप आकर्षण रहने बताइएको छ।