१४ असार २०८१, बिहीबार
Follow Us

महिनावारी भएर छाउगोठमा बसेकी किशोरी बलात्कृत

नेपालब्रिटेन संवाददाता
६ असार २०८१, बुधबार १३:२७

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिकामा महिनावारी भएर छाउगोठमा राखिएकी किशोरी बलात्कृत भएकी छन् । छाउगोठमा अचेत अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीलाई आफन्तले उद्धार गरी अस्पताल लगेका थिए ।

होसमा आएपछि उनले सोमबार मध्यरातमा आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएकी हुन् । सोही दिन दिउँसो महिनावारी भएपछि किशोरीलाई छाउगोठ राखिएको थियो । अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले राति २ बजे पिसाब फेर्न बाहिर निस्किएको समयमा आफूमाथि बलात्कार गरेको बयान किशोरीले दिएको बताए ।

प्रहरीले किशोरीको बयानका आधारमा घटनामा संलग्न १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका किशोर पीडित किशोरीका नातेदार हुन् । डिएसपी पाठकले घटनाबारे थप छानबिन भइरहेको बताए । किशोरीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको जानकारी पाठकले दिए ।

पीडक नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन । पीडितका आमाबाबु दुवै भारतमा रहेकाले आएपछि थप कारबाही अघि बढाउने तयारीमा प्रहरी छ ।