१८ असार २०८१, सोमबार
Follow Us

पहिरोको कारण शनिबार मात्र ९ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ असार २०८१, शनिबार १४:१६

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको क्षति भईरहेको छ । अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

\मृत्यु हुनेमा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र बिपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिएका छन ।

उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन । त्यस्तै आज बिहान पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् । घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम समेत बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र नारायणी नदीका अन्य सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।