काठमाडौँ । सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा नेपाल प्रेस युनियनले लगाएको ताला खोलेपछि नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । युनियनले केन्द्रीय कार्यालय, सञ्चार ग्राम, काठमाडौँसहित महासङ्घको प्रदेश र जिल्ला शाखा समेत गरी करिब ४७ कार्यालयमा लगाएको ताला आइतबारबाट खोल्न थालेको युनियनका अध्यक्ष शिव लम्सालले बताए ।
‘धेरै जिल्ला शाखामा ताला खुलिसकेको छ, केहीमा खुल्ने क्रम जारी छ’ उनले भने । यसअघि शनिबार महासङ्घ अध्यक्ष विपुल पोखरेल र युनियन अध्यक्ष लम्सालबिच भएको लिखित सहमति बमोजिम ताला खुल्न थालेको हो । युनियनले यही असार १४ गते तालाबन्दी गरेपछि महासङ्घको निर्धारित उम्मेदवारी मनोनयनको कार्यक्रमसहित निर्वाचन प्रभावित बनेको थियो ।
१५ गते केन्द्रीय निर्वाचन समितिले सोही दिन तय उम्मेदवारी दर्तासहितका निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको थियो भने यही असार २२ गतेका लागि तय गरिएको निर्वाचन अवरुद्ध भएको थियो । त्यसअघि जेठ २६ का लागि तय गरिएको निर्वाचन तालिका पनि सदस्यता विवादकै कारण अवरुद्ध भएको थियो ।