२५ आश्विन २०८१, शुक्रबार
Follow Us

यौन दुराचार आरोपी कृष्णमानको नाम निर्वाचन आयुक्तमा अस्वीकृत हुने

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८१, सोमबार ०६:२२

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गर्ने सम्भावना बढेर गएको छ । प्रधानको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न आज बिहान ११ बजे समितिको बैठक बस्दैछ । समितिका अधिकांश सदस्य प्रधानको नाम अस्वीकृत गर्ने पक्षमा छन् ।

प्रधानमाथि एक महिलाले यौन दुरचारको आरोप लगाउँदै समितिमा उजुरी दिएपछि उनको सिफारिस विवादमा परेको थियो । उजुरीमा महिलाले गैरसरकारी संस्थाम जागिर लगाइदिने प्रलोभनमा आफूमाथि यौन हिंसा गरेको उल्लेख गरेकी छन् ।

बयानका लागि उपस्थित भएकी उनले समिति सदस्यहरुलाई प्रधानले आफूमाथि गरेको यौनहिंसाको अडियो र भिडियो रेकर्ड देखाउने भन्दै पेन ड्राइभ दिएकी थिइन् । सांसदहरुले सामूहिक रुपमा नभई एक्लाएक्लै उनले दिएको सामग्री हेरेका थिए ।

यौनजन्य दुर्व्यवहारको घटनामा मिलापत्रका लागि प्रधानले महिलालाई १ करोड ५० लाख दिएका थिए । जुन सुनुवाइका क्रममा प्रधानले अस्वीकार गर्न सकेनन् । एक पूर्वप्रधानन्यायाधीशको कोटामा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रधानको नाम सिफारिस भएको थियो ।

त्यतिबेला सत्तापक्षमै रहेको एमाले र प्रमुख प्रतिपक्षमा रहेको काँग्रेस पनि प्रधानको सिफारिसको पक्षमा थियो । एमाले पृष्ठभूमिका सभामुख देवराज घिमिरे र काँग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा प्रधानको सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठकमा सहभागी थिए ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा देउवा र घिमिरेका साथै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा रानासमेत सहभागी थिए ।

घिमिरे र प्रधान समितिबाट सर्वसम्मत सिफारिस भएका थिए । प्रधानको नाम सिफारिस गर्न दबाब दिने ती पूर्वप्रधानन्यायाधीशले वर्तमान काँग्रेस–एमाले सत्ता गठबन्धन निर्माणमा भूमिका खेलेको विषयसमेत अहिले चर्चामा छ ।

सुनुवाइका क्रममा सांसदहरुले संवैधानिक निकायमा नियुक्त हुने चाहिने नैतिक चरित्र आचरण नभएको भन्दै प्रधानलाई सिफारिस गर्न नसकिने बताएका थिए ।

श्रोतका अनुसार तीनैजना शीर्ष नेताले समितिमा रहेका सांसदहरुलाई स्वविवेकका आधारमा प्रधानको नाम सिफारिस गर्ने वा नगर्नेबारे निर्णय लिन भनेका छन् ।