१ आश्विन २०८२, बुधबार
Follow Us

विदेशिएका नेपालीले पठाए १ खर्ब ७७ अर्ब रेमिट्यान्स

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार ०४:५२

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो । त्यस्तै, अध्ययनका लागि विदेशिने क्रम बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको यो अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात १६.७ प्रतिशत पुगेको छ । यस्तै, चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड पुगेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।

धेरै पढिएको