लण्डन । महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज दुई साताको भ्रमणका लागि वेलायत आएका छन्। चितवन देवघाटमा आगामी जनवरी १ देखि फेब्रुअरी १ सम्म आयोजना हुने १ लाख लक्ष चण्डीपाठ महायज्ञको प्रचारप्रसारका लागि उनी वेलायत आएको पण्डित निलहरी घिमिरेले जानकारी दिएका छन्।
भ्रमणका क्रममा गिरिजीले सेप्टेम्बर १७ मा प्लम्बस्टेडस्थित पशुपतिनाथ मन्दिर, सेप्टेम्बर २० मा साउथल हिन्दू मन्दिर र सेप्टेम्बर २७ मा अल्डरशटस्थित शिव कल्चरमा प्रवचन दिने कार्यक्रम तय भएको छ।
हिन्दू धर्मका प्रख्यात आध्यात्मिक व्यक्तित्व आत्मानन्द गिरिजी महाराजलाई उनका दर्शन र योगदानका कारण श्रद्धापूर्वक स्मरण गरिन्छ। उनका उपदेशहरू आत्मज्ञान, ध्यान र आन्तरिक शान्तिको खोजमा केन्द्रित हुने गरेका छन्। गिरिजीका अनुसार साँचो आनन्द र मुक्ति प्राप्त गर्न प्रत्येक व्यक्तिले आफ्नै अन्तरात्मासँग साक्षात्कार गर्नुपर्छ।
गिरिजी सोमबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा अवतरण गर्दा पण्डित चिरन्जीवी ढकाल र पण्डित निलहरी घिमिरेसहितको टोलीले स्वागत गरेको थियो।