प्रकाश अर्याल ।
स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत स्टर्लिंग र फलक्रिक क्षेत्रका रेस्टुरेन्टहरू मध्ये बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो।
२०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ। यही मार्च २०२४ मा ओसीएनिक अवार्ड्सद्वारा आयोजना गरिएको द स्कटिस रेस्टुरेन्ट अवार्ड २०२४ मा मेक्सिकन टेक्समेक्स बार एण्ड ग्रिललाई बेस्ट मेक्सिकन रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका दुई कार्यकाल उपाध्यक्ष समेत रहनुभएका कार्कीले नेपालमा भूकम्प जाँदा धेरै सहयोग गर्नुभएको थियो। साथै, कोभिड महामारीमा नेपाल र स्कटल्याण्डमा सहयोग अभियान सञ्चालन गर्नुभएको थियो। हाल एनआरएनएमा कुनै पदमा नरहनु भएपछि र आफ्नो व्यवसायमा खटिनु भएपछि अवार्डहरू प्राप्त गर्न थालेका छन्।
सन् २०१७ मा स्थापना गरिएको उक्त मेक्सिकन रेस्टुरेन्टमा सबै परिकारहरू ताजा मेड टु अर्डर बनाइने र कुनै फ्रोजन सामग्री प्रयोग नगरिने संचालक समाजसेवी कार्कीले बताउनुभयो। गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिको कारणले नै उक्त अवार्ड प्राप्त गरेको कार्कीले बताउनुभयो। एनआरएनए स्कटल्याण्डका संस्थापक अध्यक्ष तथा एनआरएनए युकेका निवर्तमान उपाध्यक्ष समेत रहनुभएका कार्कीले फोर्थ भ्याली कम्युनिटीमा आफ्नो रेस्टुरेन्ट लोकप्रिय रहेको बताउनुभयो। कार्कीको यसबाहेक फलक्रिकमा सुसी रेस्टुरेन्ट तथा प्रोपर्टी बिजनेस पनि रहेको छ।
कार्कीको यो चौथो रेस्टुरेन्ट हो भने निकट भविष्यमा पब व्यवसायमा लगानी गर्दै हुनुहुन्छ। स्कटल्याण्डको पहिलो नेपाली पब सञ्चालन गर्ने तयारीमा पनि उहाँ रहनुभएको छ। फास्टफुड व्यवसायमा २२ वर्षदेखि कार्यरत कार्कीले यसअघि मध्यपूर्वमा तथा अमेरिकाको मियामीमा उत्कृष्ट म्यानेजरको रूपमा समेत अवार्ड प्राप्त गर्नुभएको थियो।