काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सहरबासीलाई आतंकित पारेको आरोप लगाएको छ ।
काँग्रेस काठमाडौँ महानगर समितिले नदी किनारा आसपास ४० मिटरसम्म संरचना नबनाउन सूचना जारी गरेर साहले आतंकित पारेको आरोप लगाएको हो ।
सर्वोच्च अदालतले काठमाडौँका बागमती, विष्णुमति, बोधीखोला, मनोहरा, टुकुचा, बल्खुलगायत नदी तथा सहायक नदी किनाराका दायाँबायाँ थप २० मिटर छाडेर संरचना बनाउन आदेश दिएपछि महानगरले सूचनामार्फत उक्त आदेश कार्यान्वयन गरिने जानकारी गराएको थियो ।
काँग्रेस महानगर सभापति निलकाजी शाक्य र सिर्जना सिंहले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालत र महानगरको कदमले स्थानीय बासिन्दाका पुराना वस्ती, वासस्थान र धार्मिक सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लोप हुने सम्मको अवस्था सिर्जना भएको बताएका छन् ।
‘काठमाण्डु महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरू पर्दछन्’, विज्ञप्तिमा भनिएको छ’, ‘नेपालको संविधान २०७२ ले नागरिकको सम्पत्ति संरक्षण गर्ने र आवास स्थानको मौलिक हकलाई सुरक्षित गर्ने व्यवस्था गरेको सन्दर्भमा हालको सर्वोच्च अदालतको फैसलाले महानगरवासीको आर्थिक, भौतिक, सांस्कृतिक र सामाजिक जनजीवनमा त्रास उत्पन्न गराएको छ ।’
महानगरवासीको हक हितमा समर्पित रहनुपर्ने तथा नगरबासीहरूको पक्षमा काम गर्नुपर्ने महानगर प्रमुखको हालसम्मको गतिविधि र निर्णय नगरबासीको पक्षमा नरहेको पनि काँग्रेसको ठहर छ ।
कानुनबमोजिम नगरवासीहरूको हितका लागि फैसलाको पुनरावेदन गरी सम्पत्ति र बासस्थानको संविधानप्रदत्त हकप्रति ध्यान दिनुपर्नेमा कार्यपालिकाको बैठक वा कार्यकालिका सदस्यहरूसँग छलफल समेत नगरी महानगर प्रमुखले एकल निर्णयबाट पत्रिकामा सूचना निकाल्दा नगरबासीलाई आतङ्कित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
महानगर प्रमुख साहले नागरिकका हित र आवश्यकतालाई प्राथमिकता नदिएको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापन पत्र बुझाउने जनाएको छ ।