काँग्रेस नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकारविरुद्ध आमरण अनसन थालेका छन् ।
कार्कीले मंगलबारदेखि विराटनगरमा सरकारविरुद्ध आमरण अनसन थालेका हुन् । आफू मुख्यमन्त्री छँदा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना ल्याएकामा वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाएको विरोधमा उनी अनसन बसेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा आसपास निषेधाज्ञा घोषणा गरेको भए पनि उनी सोही क्षेत्रमा अनसन बसेका छन् । कार्कीलाई उनका समर्थकले पनि अनसन बस्न सघाउने भएका छन् ।
संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले मर्न तयार रहेको तर बालकालिकाको निःशुल्क उपचार योजना कटौती गर्न नदिने प्रतिबद्धता जनाए । ‘प्रदेशका बालबालिकाको निःशुल्क उपचार योजना कटौती गरेर मुख्यमन्त्रीले जनविरोधी हर्कत गर्नुभएको छ । जनताका छोराछोरी उपचार नपाएर मर्ने । हामी नेता र सांसदहरू भने सुविधा थपेर लिने असंगत अवस्था टुलुटुलु हेरेर बस्न सक्ने अवस्था हुँदैन’, अनसन सुरु गर्दै कार्कीले भने ।
कार्कीले मुख्यमन्त्रीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे अनसन बस्ने चेतावनी दिएका थिए । मुख्यमन्त्रीले छलफलमा नबोलाएको कार्कीले सचिवालयले जनाएको छ ।
पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारले प्रदेशभरका १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम ल्याएको थियो । तर, श्रोतले नधान्ने भन्दै वर्तमान मुख्यमन्त्री कार्कीले सो कार्यक्रम हटाएका छन् ।
कोशीमा काँग्रेस समेतको समर्थनमा एमाले नेता कार्की मुख्यमन्त्री बनेका हुन् । यद्यपि काँग्रेसले सरकारमा आफ्ना मन्त्री पठाउन बाँकी छ ।