काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन । आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको पनि बताएका छन ।
उनले भने, ‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ ।
त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ’, उनले संयुक्त राष्ट्रसंघको महासभा र साइडलाइन भेटवार्ताहरूबारे जानकारी दिँदै भने, ‘जसले बढी बिगारेको छ उसले बढी क्षतिपूर्ति र सपार्न पनि लगानी गर्नुपर्छ भनिएको छ ।’
पत्रकार सम्मेलनमा भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो । त्यसक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।