६ बैशाख २०८१, बिहीबार
Follow Us

बाढीमा परी प्यूठानमा १४ जनाको मृत्यु, २४ बेपत्ता

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १४:५६

प्यूठान । सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ ।
लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयवासी करिब ३५ वर्षीया शोभा रिजाल, २५ वर्षीया काली परियार, ११ वर्षीया प्रेम थापा, ४० वर्षीया रञ्जना केसी र १२ वर्षीया सुशिला केसीको मृत्यु भएको छ ।
त्यस्तै झिमरुक नदीमा थप पाँच जनाको शव फेला परेको छ । झिमरुक नदीको बागदुला पक्की पुलमुनि अन्दाजी ११ वर्षीया बालिका, प्यूठान नगरपालिकाको बिजुवारमा निर्माणाधीन भवन नजिकै अन्दाजी ४५ वर्षीय पुरुष र खैरा झोलुङ्गे पुलनजिक पहिचान हुन नसकेको एक जनाको शब फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पुजाँ–१ मा घर भत्किँदा ३५ वर्षीया सुपारी मल्ल र उहाँका छोरा ११ वर्षीय मुकेश मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै बिजुवारमा माजकोट गाविसकी जाली पुनको शव फेला परेको छ । त्यस्तै खवाङ–३ मा घर भत्किँदा ८० वर्षीय दविरे सुनार र ८० वर्षीया कुटली सुनारको मृत्यु भएको छ ।
त्यस्तै उत्तरी प्यूठानको अर्खा–६ गाविसमा गोठ बस्न गएका देवबहादुर बुढासहित उहाँका छोरा र छोरी बेपत्ता भएका छन् । अविरल वर्षासँगै जिल्लाको जनजीवन अत्यन्त प्रभावित भएको र जिल्लाभरमा बाढीले क्षति गरेकाले उद्धार कार्य जारी राखिएको प्रहरी नायब उपरीक्षक रञ्जित सिंहराठोँरले बताउनुभयो ।
लगातारको वर्षाका कारण जिल्लामा हालसम्ममै ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । पहिरो र बाढीका कारण फोप्ली–३ र ४ मा १४ जना बेपत्ता भएका छन् । उत्तरी प्यूठानको अर्खामा आठ र खवाङमा एकजना बेपत्ता भएका छन ।
त्यस्तै फोप्लीमा भएको घटनामा तीनजना विद्यार्थी र ११ जना स्थानीय बेपत्ता भएका छन् । स्थानीय झन्डै २०० परिवार फोप्लीमा विस्थापित भएका छन् । अहिले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयबाट उद्धार टोली घटनास्थल जाने क्रममा रहेको प्रहरीले जनाएको छ । जिल्लाभरमा बाढीका कारण धेरै मानवीय क्षति भएको हुन सक्ने प्रजिअ जनकराज पन्थले बताउनुभयो ।
बाढीका कारण फोप्ली, लुङ, उदयपुरकोट, रजवारा, स्याउलिवाङ र अर्खाका ३५० भन्दा धेरै घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई नजिकैको विद्यालयमा सारिएको छ । उद्धारका लागि जिल्लाभरमा नेपाली सेना, नेपाल प्रहरीलाई परिचालन गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ पन्थले बताउनुभयो ।