लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको लामो समयदेखि चलिरहेको विवाद मिलाउन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो सकृय हुने भएका छन्। सोमवार आयोजित एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघभित्र एकता कायम गर्नका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको घोषणा गरे।
डा. महतोले भने, “संस्थाभित्र एकता कायम गर्ने अभियानमा मैले पुरा सहयोग गर्नेछु। हामीले देशको समृद्धिको लागि केही गर्छौं भनेर बाचा गरेका थियौं। अब त्यो बाचा पूरा गर्ने समय आएको छ। हामीसँग त्यो काम गर्न आवश्यक क्षमता पनि छ।”
यसअघि सर्वोच्च संघको विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक समिति गठन गरिदिएको थियो तर सर्वोच्चको दोस्रो फैसलाले सो समिति खारेज गरेको थियो ।
“अहिलेको आवश्यकता भनेकै गैरआवासीय नेपालीहरु एक भएर अघि बढ्नु हो। अब गैरआवासीय नेपालीहरु एक भएर मात्र त्यो बाचा पूरा गर्न सक्छौं,” महतोले जोड दिए। उनले अदालतको फैसलालाई लिएर मतभेद सिर्जना गर्ने प्रवृत्तिलाई पनि समालोचना गरे। “फैसलाबारे यो हो, त्यो हो भनेर बस्नुको साटो हामीले मन र मस्तिष्कबाट एकता कायम गर्नुपर्छ,” उनले बताए।
डा. महतोले नेपाल समृद्ध नभएसम्म संस्थाभित्र कुनै प्रकारको असमझदारी हुन नहुने स्पष्ट पारे। उनले भने, “संघको स्थापना नै देशको आर्थिक, सामाजिक र मानसिक उन्नतिको उद्देश्यले गरिएको हो। त्यसैले अहिले संस्थामा एकता कायम राख्ने बेला आएको छ। सबै जना एकताका पक्षमा छन्, अब विनाशर्त एकता सहमति हुनु पर्छ।”
उनले एनआरएनएका सबै सदस्यलाई विनाशर्त एकता कायम राख्न आह्वान गरे र एकताका लागि शुभकामना व्यक्त गरे। “अब हामीलाई आर्थिक, सामाजिक, र मानसिक रूपमा एक भएर अघि बढ्नुपर्छ,” डा. महतोले भने।
उनको नेतृत्वमा एकता कायम गर्ने अभियानले एनआरएनएभित्रको विवाद समाधानमा कस्तो प्रभाव पार्नेछ भन्ने प्रतीक्षा गरिंदैछ।