बारा – नेपाली कांग्रेसका महामन्त्री गगन थापा छठ मनाउन मधेश प्रदेश पुगेका छन्। उनी सपरिवार बिहीबार जनकपुर पुगेका थिए, जहाँ उनले साँझ अस्ताउँदो सूर्यलाई पूजा गरे। शुक्रबार बिहान वीरगञ्जको ऐतिहासिक घडिअर्वा पोखरीमा थापाले उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्वको पूजा गरे।
त्यहाँ पुगेर थापाले छठी माईको आशीर्वाद र सूर्य देवताको कृपा सबैमा रहिरहोस् भन्दै सबैमा छठ पर्वको शुभकामना दिएका छन्। थापाले मधेशको संस्कृति र परम्परामा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताउँदै छठ पर्वको महत्त्वलाई उच्च सम्मान दिएका थिए।
थापाको भ्रमण कार्यक्रम अनुसार, उनी आज बाराको ऐतिहासिक मन्दिर सिमरनगढको दर्शन गर्ने योजना रहेको छ।
आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ । सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
यही विश्वासका साथ छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा भेला भएर श्रद्धालुहरुले पूजासमाग्री सूर्यलाई अर्घ दिने गर्दछन् ।
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल चढाउने गरिन्छ ।
अघ्र्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।
काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुले कमलपोखरी, गौरीघाट लगायतका स्थानबाट छठ पूजा गरेका छन् ।