न्यूयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवाशीहरुलाई सेना लगाएर देश निकाला गर्ने घोषणा गरेसँगै अवैध बाटोबाट अमेरिका पुग्नेहरुको अवस्था के हुने हो भन्नेबारे चर्चा सुरु भएको छ । ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताए । यस्तै सीमा सुरक्षा राष्ट्रिय आपतकाल घोषणा गरी मेक्सिकोको सीमानामा पर्खाल लगाउने उनले बताएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक कार्यकर्ताको पोस्टलाई ट्रम्पले रि–पोष्ट गरेका छन् । ती कार्यकर्ताले नवनिर्वाचित राष्ट्रपति ट्रम्प राष्ट्रिय आपतकाल घोषणा गर्न र गैरकानूनी आप्रवाशीलाई देश निकाला गर्न तयार रहेको बताएका छन् । रि–पोस्ट गर्दै उनले उक्त कुरा सत्य भएको लेखेका छन् । राष्ट्रपति निर्वाचन हुनुअघि गत जुलाईमा एक कार्यक्रममा ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनले भित्र्याएका लाखौं अवैध आप्रवासीलाई आफूले फिर्ता पठाउने चेतावनी दिएका थिए ।
ट्रम्पले उक्त मुद्धालाई प्रमुख चुनावी नारा बनाएका थिए । अमेरिकामा हाल झण्डै सवा करोड आप्रवासी गैरकानुनी रूपमा बस्दै आएका छन् । ट्रम्पले आप्रवासीहरूबाट अमेरिकीहरू बलात्कार र हत्याको शिकार हुनुपरेको बताए ।
अमेरिकास्थित नेपाली पत्रकार किरणबाबु मरहठ्ठा ट्रम्पले चुनावअघि र पछि दिएका सार्वजनिक अभिव्यक्ति हेर्दा अवैध आप्रवाशीप्रति उनको प्रशासन अनुदार हुने देखिन्छ । मरहठ्ठाले उनको नीतिका कारण अवैध बाटोबाट अमेरिका छिरेका र गैरकानूनी कार्यमा संलग्न नेपालीहरु समेत प्रभावित हुन सक्ने बताए ।
‘डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई हराएर दोश्रो कार्यकालमा राष्ट्रपतीय निर्वाचन जित्नुकै प्रमुख नारामध्येको एक ‘अमेरिका फस्ट’ हो । मेरो विचारमा उनले यो पटक त्यो नीतिको कार्यान्वयन गर्नेछन् । यसबाट नेपालसहित तेश्रो विश्वका विभिन्न देशबाट आएका लाखौं आप्रवाशीहरुलाई स्वदेश फर्काइनेछ’, उनले भने ।
संगठित मानव तस्कर समूहलाई लाखौं रुपैयाँ बुझाएर विभिन्न देशको जोखिमपूर्ण यात्रा गरेर युवाहरु मेक्सिको हुँदै अमेरिका पुग्ने गरेका छन् । तल्लो बाटो पनि भनिने गरिएको अवैध बाटोबाट अमेरिका छिर्नेको यकिन संख्या छैन ।
तर, हजारौं युवा त्यसरी अमेरिका पुगेका विभिन्न समयमा सार्वजनिक सञ्चार माध्यममा आएका समाचारहरुबाट बुझ्न सकिन्छ । मानव तस्करी गिराहलाई मोटो रकम बुझाएर नेपालबाट भारत, दुबई, टर्की, स्पेन, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोष्टारिका, निकारागुआ, होण्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै छिर्ने क्रम पछिल्लो समय बढेको छ ।
तल्लोबाट अमेरिका पुग्न नेपालीले ५० देखि ८० लाख रुपैयाँसम्म मानव तस्करलाई बुझाउने गरेका छन् । अमेरिका पुग्न तीनदेखि २१८ महिनासम्म समय लाग्ने गरेको त्यसरी गएकाहरुले बताउने गरेका छन् ।
‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को पछिल्लो प्रतिवेदनले सन् पछिल्लो १० वर्षमा ११ करिब हजार नेपालीहरू तल्लोबाटो भएर अमेरिका पुगेको देखाएको छ । यो अमेरिकी अध्यागमन प्रहरीले सीमाबाट पक्राउ गरी डिटेन्सन –हिरासत) मा राखेकाहरुको मात्र संख्या हो । अध्यागमन सुरक्षा गस्तीले नभेटेकाहरुको संख्या यो भन्दा अधिक छ । पक्राउ परेकाहरुमध्ये कतिपयलाई शरणार्थीका रुपमा बस्ने अधिकार दिइन्छ भने कतिपयलाई अदालतले स्वदेश फर्काउन आदेश दिने गरेको छ ।
अध्यागमन विभाग र मानव बेचबेखिन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा तल्लो बाटो भए अमेरिका पुगेका २ सय बढी नेपाली नेपाल डिपोर्ट भएका छन् ।