६ माघ २०८१, आईतवार
Follow Us

प्रधानमन्त्री ओली सडकमा शक्ति प्रदर्शनको नेतृत्व गर्दै

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०८१, शुक्रबार ०६:१४

काठमाडौं । सरकार नेतृत्वकर्ता एमालेले आज काठमाण्डुमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी र सरकारविरोधीहरुले पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रष्टाचारसहित विभिन्न आरोप लगाउने क्रम बढेको भन्दै एमालेले आफ्नो पक्षमा जनमत रहेको देखाउन कार्यकर्ता उतार्न लागेको हो ।

शक्ति प्रदर्शनसहित हुने ‘जागरण सभा’ लाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन् । दरबारमार्गमा सभा हुनुअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी छ ।

अराजकताविरुद्ध भन्दै गर्न लागिएको सभामा एक लाख कार्यकर्ता उतार्ने दाबी एमालेको छ । एमालेले यसअघि भुकुटी मण्डलमा सभा गर्न लागेको थियो । तर, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै दरबारमार्गमा सभा गर्न लागिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

झण्डै दुई तिहाइको सरकार भए पनि जनतामा आशा जगाउने गरी काम गर्न नसकेको, अर्थतन्त्रको शिथिलतामा सुधार हुन नसकेको, सुशासनको पक्षमा काम नगरेको तथा विभिन्न ठूला भ्रष्टाचार र अनियमिततामा संलग्न सत्ता पक्षका मानिसहरुलाई संरक्षण गरेको भन्दै प्रधानमन्त्री ओली र सरकारको जनस्तरमा तीव्र आलोचना हुन थालेको छ ।

त्यसैलाई अराजकताको संज्ञा दिँदै आफ्नो पक्षमा जनमत रहेको देखाउन एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो ।

एमालेका आलोचक र कतिपय शुभेच्छुकले समेत सरकारमा भएर काम देखाउनुपर्नेमा प्रधानमन्त्री स्वयंले शक्ति प्रदर्शनको नेतृत्व गर्नुले पञ्चायतीशैलीको झल्को दिएको भन्दै आलोचना गरेका छन् ।

एमालेले ले भने जागरणसभालाई बढ्दो अराजकता र अराजकताविरुद्ध लोकतन्त्र, स्थिरता, राष्ट्रिय एकता, सामाजिक सदभाव र विकासको पक्षमा प्रदर्शन भनेको छ ।