२७ मंसिर २०८१, बिहीबार
Follow Us

एनआरएनलाई नेपालको शेयर बजारमा लगानी गर्न खुल्ला, पहिलो चरणमा १० अर्ब संकलन गरिने

नेपालब्रिटेन डट कम्
७ मंसिर २०८१, शुक्रबार १२:२३

लण्डन । गैरआवासीय नेपालीहरुको लागि लगानी गर्न नेपालको शेयर बजार खुल्ला गरिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले विहिवार स्वीकृती प्रदान गरे पछि विदेशमा बस्ने नेपालीहरुले शेयर बजारमा लगानी गर्न पाउने भएका हुन् ।

गैरआवासीय नेपाली संघले शुक्रवार एक विज्ञप्ति जारी गदै नेपालको इतिहासमा पहिलो पटक गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको भन्दै सो निर्णयको स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य अनुरुप नेपाल सरकार तथा गैरआवासीय नेपालीको संयुक्त लगानीमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड स्थापना गरिएको हो ।

संघले उक्त फण्डको स्थापनाकालदेखि व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारको विभिन्न निकायमा निरन्तर रुपले पहल गर्दै आएको थियो ।

विज्ञप्तिमा ‘धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले मिति २०८१ मंसीर ६ तद अनुसार सन् २०२४ नोभेम्बर २१ तारिखको दिन स्वीकृती प्रदान गरी गैरआवासीय नेपालीको लगानी भित्र्याउने अभियानलाई थप उर्जा प्रदान गरेको छ । उक्त संशोधित निर्देशिकाले गैरआवासीय नेपालीको लगानी भित्र्याउन तथा लगानी फिर्ता सम्बन्धि विशेष व्यवस्था गरिएकोले गैरआवासीय नेपालीहरु अत्यन्त उत्साहित भएको’ उल्लेख छ ।

पछिल्लो निर्णयले विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण भएको संघको ठहर रहेको छ । पहिलो चरणमा करिब १० अर्बको लगानी रहने सो फण्डकोे लागि भविष्यमा गैरआवासीय नेपालीको लागि सार्वजनिक धितोपत्र आह्वान गर्ने संघले जनाएको छ ।

संघले, गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन आवश्यक वातावरण निर्माणमा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, तथा अन्य सम्बन्धित निकाय, र सम्पूर्ण साझेदारहरूप्रति गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा विश्वभरी ८७ देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा धन्यवाद व्यक्त गरेको छ ।