काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका पूर्वआन्तपरक मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई सरकारले मानव तस्करी कसुरमा उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
बुधबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले अधिकारी मानव तस्करी प्रकरणको मुख्य योजनाकार रहेको आरोप लगाए ।
‘पूर्वमन्त्रीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेकोमा हाम्रो पार्टीको आपत्ति छ,’ सापकोटाले भने, ‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने गरी मुद्दा दर्ता गरिएको छ ।’
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले अधिकारीविरुद्ध अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, मानव तस्कर समूहलाई ३३ लाख पैसा बुझाएर अधिकारीसँगै जापान गएर डिपोर्ट भएका तीन युवासहित ११ जनाविरुद्ध भने काठमाण्डु जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले भने अधिकारीसहित त्यसमा संलग्नलाई मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसूरको अपराध र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ को दफा (४) को उपदफा २ (ग) बमोजिमको कसूरमा कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
माओवादीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भ्रष्टचारी र माफियाको संरक्षण गर्दै आएको आरोप लगाएको छ ।
सापकोटाले मानव तस्कर, भ्रष्टाचारी र माफियाको संरक्षक सरकारविरुद्ध १६ मंसिरको स्थानीय तह निर्वाचनपछि कडा रुपमा प्रस्तुत हुने बताए ।