२० बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसको ३० देखि ५० प्रतिशत मत रेणुलाई

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार १०:५४

चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । हालसम्म नेकपा (एमाले)का देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि हुनुहुन्छ । उपप्रमुखमा भने काँग्रेसकी पार्वती शाह पाँच हजार हाराहारीले अगाडि हुनुहुन्छ ।
महानगरको २९ वडामध्ये एउटा वडाको गणना भइरहेको छ भने सातवटा वडाको गणना गर्न बाँकी छन् । गणना भएका २१ वटा वडामध्ये एमालेले ११, काँग्रेसले सात र माओवादी केन्द्रले तीनवटा वडा जितेका छन् । काँग्रेस र माओवादीबीच तालमेल भए पनि मतदाताले पार्टीको निर्देशनलाई पूरै पालना गरेको भने पाइँदैन ।
गणना भएको मतलाई हेर्दा सहरी क्षेत्रमा काँग्रेसले माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई ३० देखि ५० प्रतिशत मत दिएको पाइन्छ भने ग्रामीण क्षेत्रमा ५० देखि ७० प्रतिशतसम्म मत दिएको देखिन्छ । तालमेलबाट रुष्ट करिब १० देखि १५ प्रतिशत काँग्रेस कार्यकर्ताले आफूलाई भोट दिएको एमालेका प्रमुख पदका उम्मेदवार ज्ञवालीको दाबी छ ।
उहाँको दाबीलाई सहायक मतदान अधिकृत गम्भीर घिमिरे मिल्दोजुल्दो नै मान्नुहुन्छ । अधिकांश काँग्रेस मतदाताले रुखमा नै भोट हालेको, प्रमुख पदमा खाली छोडेको, राप्रपालगायतका अन्य साना दललाई भोट दिएको घिमिरेले बताउनुभयो ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ पार्टीप्रति प्रतिबद्ध र इमान्दार कार्यकर्ताले गठबन्धनअनुसार नै मतदान गरेको बताउनुहुन्छ । प्रा डा सूर्यकान्त घिमिरे भने काँग्रेसका सचेत मतदाताको भोट गठबन्धनमा कम गएको विश्लेषण गर्नुहुन्छ ।
माओवादी केन्द्रका नेता नारायण दाहाल काँग्रेसभित्रको असन्तुष्टि साम्य हुन नसकेका कारण माओवादी केन्द्रका उम्मेदवारलाई कम मत परेको बताउनुहुन्छ ।
मतगणनाको क्रम अन्त्यतिर पुग्नै लाग्दा पनि कसको जित हुन्छ भन्नसक्ने अवस्था छैन । गणना गर्न बाँकी वडा काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । गणना गर्न बाँकी अधिकांश वडा चितवन क्षेत्र नं ४ मा पर्दछन् । जहाँबाट नेपाली काँग्रेसका पूर्व सभापति स्व सुशील कोइराला भारी मतका साथ सभासद् हुनुभएको थियो ।
ज्ञवाली पाँच सय मतले आफू जित्ने दाबी गरिरहँदा दाहाल एक हजार मतले आफ्नो उम्मेदवारले जित्ने दाबी गर्नुहुन्छ । यद्यपि दुबै पार्टीको भोटको आशा काँग्रेस भएकाले काँग्रेसले जसलाई बढी मत दिन्छ, उसैको जित निश्चित छ ।
अब गणना हुन बाँकी वडामा काँग्रेसको ६० प्रतिशतभन्दा बढी मत माओवादीले पाउन नसकेमा जित ज्ञवालीको हुने प्राध्यापक घिमिरेको अनुमान छ । अन्तिम परिणाम आउन अझै तीन दिन लाग्नसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
– नारायण अधिकारी