२५ असार २०८२, बुधबार
Follow Us

सहकारी प्रकरणमा रविबारे प्रचण्डको टिप्पणी दुर्भाग्यपूर्णः गृहमन्त्री लेखक

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०८१, आईतवार १३:४३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन ।

आज (आइतबार) चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको बताएका छन ।

सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको पनि बताएका छन ।

पूर्वप्रधानमन्त्री प्रचण्डले केही समय अगाडि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई गृहमन्त्री लेखकले न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रूपमा अर्थाए ।

चितवनको भरतपुरमा २५ मंसिरमा भएको कोण सभामा पनि उनले लामिछानेको बचाउ गर्दै सरकारले एकपक्षीय रूपमा व्यवहार गरेको बताएका थिए । चितवनबाट पोखरा लैजाँदा लामिछाने माथि अमानवीय व्यवहार गरिएको भनेर गरिएको आलोचनामा कुनै पनि सत्यता नरहेको गृहमन्त्री लेखकको प्रष्टीकरण थियो ।

उनले भने, ‘२ कात्तिकमा पक्राउ पर्दा उहाँ आफैंले गाडीमा राति नै पोखरा जान्छु भन्नुभयो, प्रहरीले जहाजमा लैजान्छु भन्दा मान्नु भएन, काठमाडौंबाट राति पोखरा जाँदा ठिक हुने, चितवनबाट पोखरा जाँदा अमानवीय व्यवहार भयो भन्नुमा कुनै सत्यता छैन, ‘प्रहरीले लामिछाने माथि कुनै पनि अमानवीय व्यवहार गरेको छैन, हरेक नागरिकको मानव अधिकारप्रति सरकार सचेत छ, कसैलाई पनि फरक व्यवहार गर्दैन ।

’सहकारी ठगीमा संलग्न भएका, फरार रहेका र विदेश गएकाहरूलाई समेत सरकारले धमाधम पक्राउ गरिरहेको भन्दै अनुसन्धानको पाटोमा कसैलाई पनि नछाडिने बताएका छन । उनले आफ्नै पार्टी उपसभापति धनराज गुरुङ माथि सहकारी ठगी प्रकरणमा किन अनुसन्धान भएन भन्ने पत्रकारहरूको प्रश्नमा गृहमन्त्री लेखकले धनराज माथि अनुसन्धान भइरहेको पनि बताएका छन ।

उनले भने, ‘सहकारीमा ठगी गर्ने, अपचलन गर्ने, अपराध गर्ने सबैका माथि अनुसन्धान हुन्छ, कसैको पनि अनुहार हेरेर छुट दिइँदैन, ‘सहकारी ठगीको आरोपमा पार्टीका उपसभापति माथि पनि बयान लिने बुझ्ने काम भइरहेको छ ।’

सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई कहिले पक्राउ पर्छन् भन्ने पत्रकारको अर्को प्रश्नमा गृहमन्त्री लेखकले जीबीलाई पक्राउ गरेर नेपाल ल्याउने काममा सरकार लागि परेको बताए । तर, राई कुन देशमा लुकेका छन् भन्ने प्रश्नको जवाफ गृहमन्त्रीले दिएनन् ।

धेरै पढिएको