३ चैत्र २०८१, सोमबार
Follow Us

आबुधावी दुतावासमा सेवाग्राहीलाई विशेष काउन्टरको स्थापना

नेपालब्रिटेन डट कम्
१२ माघ २०८१, शनिबार १९:३३

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण सेवा सुरु गरेको छ। राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गएकाले उक्त काउन्टर स्थापना गरिएको जनाइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको प्रवेशाज्ञाको अवधि समाप्त भइसकेका, राहदानी हराएका र राहदानीको म्याद सकिन लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएकालाई उक्त सेवाले राहत दिएको जनाइएको छ।

नेपाली नागरिकका लागि विशेष प्राथमिकता दिई सञ्चालन गरिएको आजको शिविरमा पाँच सय ४८ जनाको राहदानी नवीकरण गरेको छ । राहदानी नवीकरणका लागि विशेष काउन्टहरु सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ, युएईले स्वयंसेवक उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको जनाइएको छ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ। दूतावासले यसअघि पनि सार्वजनिक बिदाका दिनहरुमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविरहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि नेपाली नागरिकको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।