३ चैत्र २०८१, सोमबार
Follow Us

जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लोकार्पण हुदैं

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०८१, शनिबार ०१:२५

लण्डन । उद्यमी एवं लेखक जीवा लामिछानेको पुस्तक ‘अक्षत अन्टार्कटिका’ को लोकार्पण हुने भएको छ । यही फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने लिटरेचर फेस्टिभलमा सो पुस्तकको लोकार्पण हुन लागेको हो । ‘अक्षत अन्टार्कटिका’ उनको तेस्रो कृति हो ।

पोखराको बाराहीघाट, लेकसाइडमा आयोजना हुने फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट हुने आयोजक बुकवर्म फाउन्डेसनद्वारा पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको बुकवर्मले जनाएको छ । ‘फेस्टिभलको बाह्रौं संस्करणलाई हामी थप विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित खटिइरहेका छौं । साहित्यको यस ‘कुम्भमेला’ मा तपाईंहरूको सहयोग यसअघिका संस्करणमा जस्तै रहने अपेक्षा लिएका छौं,’ बुकवर्मको विज्ञप्तिमा उल्लेख छ ।

यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश रहेको विज्ञप्तिमा उल्लेख छ । एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुद्ध एयरले सम्वर्द्धन गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै अध्यात्म र संघर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी, नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।’

फेस्टिभलमा वरिष्ठ वामपन्थी नेता एवं नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’ माथि विमर्श हुनेछ । ‘फेस्टिभलको यस संस्करणमा उमेरले भर्खरै ६ वर्ष पुगेकी लेखक भूमिलक्ष्मी पराजुलीको पुस्तक ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गर्न पाउँदा हामी गौरवान्वित छौं,’ विज्ञप्तिमा जनाइएको छ ।