काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया शुरु गरेको छ ।
त्रि.वि.का आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । “विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ”, उनले भने, “विगत भन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।”
निर्वाचन कार्यतालिका अनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रि.वि.ले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्पसमा आफ्नो सङ्गठनको मनोनयन गरिएको जानकारी दिए । यस्तै, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा सङ्गठनको नाम दर्ता गराइएको बताए ।
अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा सङ्गठन दर्ता गरिएको जानकारी दिए । यसअघि त्रि.वि.ले ‘स्ववियु निर्वाच सम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ ।
चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।