२४ असार २०८२, मंगलवार
Follow Us

चार सय गाडी अघिपछि लगाएर हिंड्ने गगन थापाबाट लोकतन्त्र खतरामा छः अमरेश

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०८१, मंगलवार १३:२०

काठमाडौँ । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले राजावादीबाट भन्दा कांग्रेस–एमाले नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले राजावादीहरुलाई देखाएर काँग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए । नेपाली जनता सधैं लोकतन्त्रको पक्षमा रहेको भन्दै उनले लोकतन्त्रको नाममा नेतातन्त्र मौलाएकाले असन्तुष्टि बढेको बताए ।

‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन चलिरहेछ, त्यसको विरूद्ध आवाज उठाउँछन्’, उनले भने, ‘नेपालमा आजको दिनमा लोकतन्त्र छैन । नेतातन्त्र छ । नेताहरूको संरक्षणमा सम्पूर्ण बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन् ।’

सिंहले त्रिभुवन विश्वविद्यालयमा राजावादीले रेक्टरको कुर्सी तोडेका हुन् कि, कांग्रेस–एमाले कार्यकर्ताले भन्दै प्रश्न गरे ।

सिंहले काँग्रेस महामन्त्री गगन थापा दुई सय गाडी अघिपछि लगाएर विभिन्न जिल्ला पुगिरहेको टिप्पणी गरे । लोकतन्त्रमाथि त्यस्ता गतिविधिबाट खतरा रहेको उनको भनाइ थियो ।

‘अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश सुन्दै थिएँ । उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा दुईचार सय गाडी लिएर कहिले वीरगञ्ज पुग्नुभएको छ’, थापालाई लक्षित गर्दै उनले भने,‘कहिले सिमरा त कहिले सिन्धुली पुग्नुहुन्छ । त्यो लोकतन्त्र हो ? बिचौलिया, दलाल र तस्करले मात्रै दुई सयवटा गाडीको व्यवस्था गर्नसक्छ । कुनै नेपाली जनताले गर्न सक्दैन । लोकतन्त्रलाई खतरा यस्ता महामन्त्रीबाट छ ।’

जनताले कुलमानलाई दुःख दिने, त्रिभुवन विश्वविद्यालय र ललिता निवासको जग्गा कब्जा गर्नेहरु खै भनेर सोधिरहेको उनले उल्लेख गरे । सिंहले १८ वर्षसम्म लोकतन्त्रका नाममा विभिन्न पदमा पुगेकाहरु नै लोकतन्त्र रक्षाका लागि उत्रनुपर्ने बताए ।

आफूहरु लोकतन्त्र रक्षाका लागि ‘लास्ट लाइन अफ् डिफेन्स’ भएको भन्दै उनले आफूहरुले जनता नलुटेको र लुट्ने पक्षमा पनि नरहेको उल्लेख गरे । जसले जनता लुटेको छ उसैले अर्ती उपदेश दिएर हिंडन नमिल्ने उनको भनाइ थियो । सिंहले काँग्रेस र एमालेले मुलुकको ऋण २६ खर्ब बढाएको आरोप लगाए । उनले विगतमा पनि काँग्रेस एमालेले बहुमत खाएको आरोप लगाए ।

‘कांग्रेस, एमालेले बहुदल खाएकै हो । आज गणतन्त्र खान लागेको यथार्थ हो । २०६१ माघ १९ अगाडि कसको सरकार थियो ?’, उनले भने, ‘कांग्रेस एमालेको होइन ? बहुदलको अन्तिम श्राद्ध माघ १९ को दिन भएको हो । आज पनि गणतन्त्रको श्राद्ध नगरिदिनुस् । जनताको पक्षमा काम गरिदिनुस् ।’

धेरै पढिएको