लन्डन। वेलायतको हल विश्वविद्यालयले प्रा. सूर्य प्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारको यस वर्षको विजेता घोषणा गरेको छ।
संसारभर आधुनिक दासता उन्मूलन तथा मानव अधिकार संरक्षणका विषयमा लेखिएका उत्कृष्ट कृतिहरूलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष वितरण गरिन्छ। यस वर्षको पुरस्कार नेपालकी रिचा श्रेष्ठलाई प्रदान गरिएको छ। श्रेष्ठको अनुसन्धानात्मक आलेख “कसरी मानिसहरूलाई आधुनिक दासताको एउटा शृंखलाको रूपमा बिभिन्न प्रलोभनमा पारि रूस र युक्रेनको युद्धमा लगिन्छ” भन्ने विषयमा केन्द्रित छ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालय र संयुक्त राष्ट्रसंघमा युवा सल्लाहकारको रूपमा कार्य गरिसकेकी रिचा हाल नेपालको सर्वोच्च अदालतमा अनुसन्धानको काम गर्दैछिन्। एक मेधावी युवा महिलाका रूपमा उनी आफ्नो पहिचान स्थापित गरिरहेकी छिन्।
यसअघि, उक्त पुरस्कार इन्डोनेसियाका एक मेधावी व्यक्ति र गत वर्ष युक्रेनी कानूनविदलाई प्रदान गरिएको थियो। करिब दुई सय वर्षअघि संसारभर दास प्रथा उन्मूलन गर्न नेतृत्व गरेका वेलायती राष्ट्रिय व्यक्तित्व विलियम विल्बर्फोर्सको नाममा स्थापित विल्बर्फोर्स इन्स्टिच्युटद्वारा आयोजित वार्षिक प्रतियोगितामार्फत यो पुरस्कार प्रदान गरिन्छ।
कानून, राजनीति शास्त्र, समाजशास्त्र, मानविकी आदि विषयमा संसारका कुनै पनि विश्वविद्यालयबाट स्नातक गरेका, तर ४० वर्ष ननाघेका व्यक्तिहरूले यो प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ।
प्रा. सुवेदीले सन् १९८८ मा हल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर (विशिष्ट श्रेणीमा प्रथम) उपाधि प्राप्त गरेका थिए। विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधिसमेत प्रदान गरेको छ।