१७ जेष्ठ २०८३, आईतवार
Follow Us

राजावादीको आन्दोलन हिंस्रक हुनसक्छ: डा. प्रकाशचन्द्र लोहनी

नेपालब्रिटेन संवाददाता
२७ चैत्र २०८१, बुधबार १४:००

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् ।

राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न सरकारलाई आग्रह गरे ।

‘अब संघर्ष गर्ने समय आएको छ । रावण प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गर्नुभयो । अन्तिममा गएर संघर्ष गर्नुपर्‍यो’ उनले पौराणिक प्रसंग जोड्दै भने, ‘संघर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो ।’

नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए ।

‘नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ,उनीहरूलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा संघर्षसिवाय अर्को उपाय छैन’ उनले भने, ‘संघर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ ।’

लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने दाबी गरे ।

‘राप्रपाले भनेको छ हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ । अत्याचार दुराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन’ उनले भने, ‘हामी अगाडि बढ्छौँ ।’

नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उनको जिकिर थियो ।

धेरै पढिएको