३१ असार २०८२, मंगलवार
Follow Us

बंगलादेशद्वारा बेलायती सांसद ट्युलिप सिद्दिकविरुद्ध पक्राउ पूर्जी जारी

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०८१, आईतवार १९:५२

लण्डन । बंगलादेशी अधिकारीहरूले बेलायती सांसद तथा पूर्व श्रम मन्त्री ट्युलिप सिद्दिकविरुद्ध पक्राउ पूर्जी जारी गरेका छन्।

बंगलादेशको भ्रष्टाचार अनुसन्धान आयोग (एसीसी) ले सिद्दिकमाथि अवैध रूपमा जग्गा प्राप्त गरेको आरोपमा अनुसन्धान गरिरहेको छ। उक्त मुद्दा बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसीनाको शासनकालसँग सम्बन्धित व्यापक अनुसन्धानको अंश हो। शेख हसीना सिद्दिककी काकी हुन्।

ह्याम्पस्टेड एन्ड हाईगेट क्षेत्रकी सांसद सिद्दिकले यस वर्ष जनवरीमा बेलायतको कोष मन्त्रालय (ट्रेजरी) मा आर्थिक सचिवको पदबाट राजीनामा दिएकी थिइन्। उनीमाथि जारी गरिएको पक्राउ पूर्जीमा ५० जना भन्दा बढी अन्य व्यक्तिहरूको नाम समेत समावेश गरिएको छ।

सिद्दिकका कानूनी प्रतिनिधिहरूले ती आरोपहरू “राजनीतिक प्रेरित” भएको दाबी गरेका छन्।

“एसीसीले हालसम्म कुनै प्रमाण प्रस्तुत गरेको छैन, न त सिद्दिकलाई पक्राउ पूर्जीबारे आधिकारिक रूपमा जानकारी दिएको छ,” वकिलहरूले बताएका छन्।

बेलायतले बंगलादेशलाई २बी श्रेणीको प्रत्यार्पण देशको रूपमा वर्गीकरण गरेको छ, जसको अर्थ कुनै पनि प्रत्यार्पण निर्णय गर्नु अघि स्पष्ट प्रमाण आवश्यक पर्छ र यो प्रक्रिया मन्त्री तथा न्यायाधीशहरूले निर्णय गर्ने गर्दछन्।

धेरै पढिएको