७ जेष्ठ २०८२, बुधबार
Follow Us

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

नेपालब्रिटेन डट कम्
८ बैशाख २०८२, सोमबार ००:१५

काठमाडौं। सिंहदरबारमा प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई प्रहरीले रिहा गरेको छ।

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो।

प्रहरीको नियन्त्रणबाट रिहा भएपछि राप्रपा अध्यक्ष लिङ्देनले आइतबारको आन्दोलन सफल भएपनि जेका लागि आन्दोलन गरेको हो, त्यो पूर्ण हुन बाँकी रहेको प्रतिक्रिया दिए। उनले थप कार्यक्रम प्रकाशित गरेर आन्दोलन जारी राख्ने उल्लेख गरे। उनले राप्रपालाई साथदिनेहरुलाई धन्यवाद समेत दिए।

त्यसअघि आफ्ना नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपाको आकस्मिक कार्यसम्पादन समितिको बैठक बसेको थियो।

बैठकले शान्तिपूर्ण मान्यताबाट आफ्नो एजेण्डा स्थापीत गर्न केन्द्रीत हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले राप्रपामाथि राज्यले गरेको दमन अलोकतान्त्रिक भएकाले सरकारले आफ्नो शैली सुधार गर्नुपर्नेमा बैठकले जोड दिएको उल्लेख गरे।

आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।