७ जेष्ठ २०८२, बुधबार
Follow Us

प्रधानमन्त्री ओलीले एनआरएनए अध्यक्ष डा. बद्री केसीलाई भने– “तपाईं अघि बढ्नुहोस्”

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०८२, सोमबार ०१:३६


‘परराष्ट्र मन्त्रीको एकता अधिवेशनमा सहभागीता व्यक्तिगत निर्णय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीलाई संस्थाको विधानअनुसार अधिवेशनको तयारी गर्न निर्देशन दिएका छन्।

एनआरएनए अध्यक्ष डा. बद्री केसीसहित पदाधिकारीहरूसँग भएको भेटमा प्रधानमन्त्री ओलीले संघलाई गैरराजनीतिक संस्था बनाउनु पर्ने धारणा व्यक्त गरे। उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई एनआरएनए फुटाउने अधिवेशनमा नजान भनेको भए पनि मन्त्री देउवाले व्यक्तिगत चाहनामा शेष घले समूहको अधिवेशनमा भाग लिएको बताए।

प्रधानमन्त्री ओलीले सरकारले ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिसँग मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याए।

एनआरएनए अध्यक्ष डा. केसीका अनुसार प्रधानमन्त्रीले ११औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघमा सरकार र पार्टीको कुनै हस्तक्षेप हुनु नहुने स्पष्ट पारे।

“दसौं महाधिवेशनमा विवाद भएको थियो। त्यो विवादको टुंगो ११औं महाधिवेशनले लगाइसकेको छ। पछिल्लो फैसलाले पनि ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ,” प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै डा. केसीले भने, “११औं महाधिवेशनपछि अब अर्को महाधिवेशन आवश्यक छैन। अन्य कुनै अधिवेशन भए पनि त्यो सम्पन्न भइसकेको हो।”

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय समन्वय समिति (एनसिसी) को अधिवेशनपछि मात्र एनआरएनए महाधिवेशन गर्नुपर्ने धारणा राखेको उपाध्यक्ष विनोद श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले हरेक दुई वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने बताएका छन्।

शेष घले नेतृत्वको उच्चस्तरीय समितिले शनिबार र आइतबार आयोजना गरेको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ। उक्त कार्यक्रमको उद्घाटन परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरेकी थिइन् भने समापनमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए।