– सोमनाथ सापकोटा
“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–आईसीसी) द्वारा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ आज २०२५ मे १४ (२०८२ वैशाख ३१) गते काठमाडौंमा आयोजना हुँदैछ।
यो ऐतिहासिक कार्यक्रमले विश्वभरबाट आएका गैरआवासीय नेपाली, नेपाल सरकारका उच्च अधिकारी, नीतिनिर्माता, विज्ञ तथा बौद्धिक वर्गलाई एउटै मञ्चमा ल्याई, एनआरएनए र नेपालको साझा भविष्यका विषयमा गहन छलफलको अवसर प्रदान गर्नेछ। कार्यक्रमको उद्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले प्रमुख अतिथिको रूपमा गर्नुहुनेछ, जुन स्वयंमा संघको लागि गौरवको विषय हो।
कार्यक्रमको मुख्य उद्देश्य एनआरएन नागरिकता, लगानी संरक्षण, वैदेशिक रोजगारीको सुरक्षा लगायतका विषयमा सरकार र सम्बन्धित निकायहरूसँग स्पष्ट संवाद गर्दै समाधानको मार्ग पहिल्याउनु हो।
हाल सामाजिक सञ्जालमा कार्यक्रमप्रति उठाइएका शंका–उपशंकालाई ध्यानमा राख्दै, म सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयमित, जिम्मेवार र एकताबद्ध भएर सकारात्मक सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछु।
नेपालको सर्वोच्च अदालतको पछिल्लो आदेशअनुसार एनआरएनएको नेतृत्वसम्बन्धी विषय स्पष्ट भइसकेको छ—कतै पनि संघलाई अवैधानिक भनेर उल्लेख गरिएको छैन। हामी निरन्तर कानुनी सल्लाह र मार्गनिर्देशनअनुसार आफ्ना कार्यहरू अघि बढाइरहेका छौं।
यो सम्मेलन कुनै प्रतिस्पर्धात्मक वा विवादास्पद कार्यक्रम होइन, बरु संघका दीर्घकालीन हितलाई सम्बोधन गर्नका लागि उठाइएको जिम्मेवार र दूरदर्शी कदम हो।
यसलाई हामीले विभाजनको रूपमा नभई एकताको अवसरको रूपमा लिनुपर्छ। अब आत्ममूल्यांकन गर्ने बेला आएको छ—हामी किन विभाजित भयौं? त्यसबाट कसलाई फाइदा भयो?
सर्वोच्च अदालतले २०७८/०७/०५ मा डा. बद्री केसीलाई निर्वाचित भई २०८२/०७/०४ सम्म कार्यकाल रहने स्पष्ट निर्णय गरिसकेको छ। बाँकी विषयहरू पूर्ण इजलासबाट अन्तिम कानुनी व्याख्या हुने प्रक्रियामा छन्।
त्यसैले, हालसम्म संघका कुनै पनि गतिविधि अवैधानिक छैनन्। प्रस्तुत सम्मेलन पनि **”एकता महाधिवेशन”**अगावै तय गरिएको कार्यक्रम हो, जसको उद्देश्य साझा मुद्दाहरू सरकारसमक्ष समन्वयपूर्वक प्रस्तुत गर्नु हो।
हामी हाल नेतृत्वमा छौं तर संस्थाको विधान र इतिहासलाई मनलाग्दी ढंगले परिवर्तन गर्ने अधिकार हाम्रो छैन। हाम्रो कर्तव्य भनेको असहमति समाधान गर्दै, एकअर्कालाई सम्मान गर्दै, संस्थाको गरिमा जोगाउँदै अघि बढ्नु हो।
नत्र, हामी नेपालीले भन्ने गर्छौं—”न रहे बाँस, न बजी बाँसुरी।”
यदि हामी सचेत भयौंन भने, आफ्नो पहिचान, गरिमा र संस्था सबै गुमाउने जोखिममा छौं।
यस सन्दर्भमा म सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई गम्भीर, जिम्मेवार र एकताबद्ध भएर संघको मूल उद्देश्यमा दृढतापूर्वक अघि बढ्न हार्दिक आह्वान गर्दछु।
(लेखक एनआरएनएको उपमहासचिव हुन्।)