बुटवल | शुक्रबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीसहितको वर्षाले ठूलो धनजनको क्षति गरेको छ ।
पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा हावाहुरी र सडक दुर्घटनामा परेर शुक्रबार सात जनाको मृत्यु भएको छ भने, ८ जना घाइते भएका छन् ।
पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भयो भने तीन जना गम्भीर घाइते भए । सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो ।
घटनामा सुनवल–७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
सोही वडाका ४० वर्षीया नरमती परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ ।
पानी परेपछि प्रतीक्षालयमा बसिरहेकाहरूलाई हावाहुरीले ढालेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालय नै भत्किएको प्रहरीले जनाएको छ ।
यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ । उनी तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएकी थिइन् । चोट लागेर घाइते भएकी उनलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताए ।
यता, रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।