२९ असार २०८२, आईतवार
Follow Us

गृहमन्त्रीबारे रास्वपा: प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८२, आईतवार १३:५८

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) कांग्रेस-एमालेको गठबन्धनको औचित्य पुष्टि हुँदै गएको टिप्पणी गरेको छ । केन्द्रीय समितिको आइतवार बसेकाे बैठकमा रविको मुद्दामा हालैको सर्वोच्चको आदेश, भिजिट भिसा प्रकरण, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल भएको छ ।

रास्वपाले गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति छाड्ने भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको बताएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति छाड्छु भनेर दिएको अभिव्यक्तिको कुनै अर्थ नभएको भन्दै प्रमाणित भए जेल जानुपर्ने र त्यसवेला राजनीति स्वाभाविक रूपमा छोडिने बताएका छन् ।

‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो । प्रमाणित भएपछि जेल त जानैपर्छ । त्यसका लागि राजनीति नछाडि हुँदैहुदैन’, झाको भनाइ छ ।
अहिलेको सरकार भ्रष्ट र तस्करले चलाएको भन्दै झाले एकअर्कालाई बचाउन र खुलेको फाइल बन्द गर्न यो गठबन्धन बनेको आफूहरूले त्यहीबेला भनेको र भिजिट भिसा काण्डले त्यसलाई पुष्टि गरेको दाबी गरे ।

गृहमन्त्रीले प्रमाणित भए भने राजनीतिक छाड्छु भनेको सम्झिँदै उनले पुराना र नयाँ दलको हकमा किन फरक भन्दै प्रश्न गरेका छन् ।

धेरै पढिएको